सिभिल सहकारी ठगी प्रकरणः ईच्छाराज तामाङकी श्रीमती सिर्जना शाक्य तामाङ पक्राउ



काठमाडौं । नेपाल प्रहरीले सिभिल सहकारीका पूर्व अध्यक्ष ईच्छाराज तामाङको श्रीमती सिर्जना शाक्य (तामाङ) लाई पक्राउ गरेको छ ।

ठगी सम्बन्धी कसूर तथा संगठित अपराधमा फरार प्रतिवादी काठमाडौं कीर्तिपुर नगरपालिका–१ बस्ने धनकुटा, धनकुटा नगरपालिका–६ घर भएकी ५७ वर्षीया सिर्जना शाक्य (तामाङ)लाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–१३ सोल्टीमोडस्थित सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थामा आकर्षक ब्याजदर एवं विभिन्न प्रलोभन समेतमा पारी ठुलो संख्यामा बचतकर्तालाई रकम जम्मा गर्न लगाई संगठित रुपमा ५ अर्ब ८४ करोड ४० लाख २१ हजार ७ सय १३ रुपैयाँ १० पैसा ठगी गरेको घटनामा संलग्न संस्थाकी लेखा समिति सदस्य सिर्जनालाई प्रहरीले पक्राउ गरेको हो ।


केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं रामशाहपथबाट पक्राउ गरेको जनाएको छ ।
साथै सोही घटनामा संलग्न उक्त संस्थाका पूर्व अध्यक्ष ईच्छा राज तामाङसहित १२ जना प्रतिबादीहरुलाई २०७८ मंसिर १७ गते प्रहरीले पक्राउ गरी जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकोमा ईच्छा राज तामाङ र केशवलाल श्रेष्ठ पुर्पक्षको लागि कारागारमा रहेका छन् । सिर्जनालाई आवश्यक कानूनी कारबाहीको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।


क्लिकमान्डु