बोर्ड अध्यक्षसहित टोलीको सेबी भ्रमणः पुँजी बजारको विकास र सन्तुलनमा सघाउ पुग्ने



काठमाडौं । धितोपत्र बोर्डको नेतृत्वले भारतीय पुँजी बजारको नियामक निकाय सेक्युरिटि एक्सचेञ्ज बोर्ड अफ इण्डिया(सेबी) भ्रमण गरेको छ ।

उक्त भ्रमणले नेपालको धितोपत्र बजारमा आधुनिक सूचना प्रविधिको विकास तथा विस्तार भई बजारको उचित विकास र सन्तुलनमा सघाउ पुग्ने अपेक्षा गरिएको बोर्डको भनाइ छ ।

बोर्डका अध्यक्ष रमेश कुमार हमाल, का.मु. कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, उप कार्यकारी निर्देशक कृष्णराज पोखरेल र का.मु. उप कार्यकारी निर्देशक नारायण प्रसाद शर्मासहितको टोलीले भारतीय पँुजी बजारको अध्ययन भ्रमण गरेको हो ।

भ्रमणका क्रममा बोर्डका पदाधिकारीले सेबी, बम्बई स्टक एक्सचेञ्ज (बिएसइ), नेशनल इन्स्टिच्युट अफ सेक्युरिटि मार्केटस (एन.आइ.एस.एम) र मल्टी कमोडिटि एक्सचेज अफ इण्डिया(एम.सि.एक्स.) का उच्च पदाधिकारीसँग भेटघाट भएको बताइएको छ ।

भारतीय धितोपत्र बजारको नियमन निकाय सेबीका अध्यक्ष माधवी पुरी बुच तथा बोर्ड अध्यक्ष हमालबीच द्धिपक्षीय सहयोग आदान प्रदान सम्बन्धमा छलफल भएको छ । दुई अध्यक्षले आगामी दिनमा यी निकायहरुबीच दीर्घकालिन रुपमा सहकारी गर्ने, समन्वयगरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपालको पुँजी बजार विकासको लागि भारतीय पुँजी बजारको राम्रो अभ्यास तथा संस्थागत क्षमता अभिवृद्धि, बजार नियमन तथा सुपरिवेक्षणमा स्वचालित अनलाईन सुपरिवेक्षण प्रणाली, नियामकीय सूचना प्रविधि व्यवस्था र वित्तीय साक्षरता अभिवृद्धिका लागि गरिनुपर्ने कार्य सम्बन्धमा आपसी सहयोग गर्ने सम्बन्धमा छलफल भएको छ ।

बोर्ड अध्यक्षसहितको टोलीले बि.एस.इ.का प्रमुख कार्यकारी अधिकृत आशिष कुमार चौहानसहितको उच्च पदाधिकारीहरुसँग छलफल गरेको छ ।

त्यस क्रममा उक्त एक्सचेञ्जले प्रयोग गरिरहेको कारोबार प्रणाली, सुपरिवेक्षणका लागि गरेको व्यवस्था र साईबर जोखिम कम गर्नका लागि गरेको व्यवस्था सम्बन्धमा जानकारी दिएका छन् । यस्तै त्यहाँको प्रणालीको अवलोकन गरिएको छ ।

त्यस क्रममा बि.एस.इ का प्रमुखले नेपालको धितोपत्र बजार विकासका लागि सहयोग गर्न तत्पर रहेको बताएका छन् । वित्तीय साक्षरता अभिवृृद्धिका लागि सेबीको अग्रसरतामा स्थापित एन.आइ.एस.एम. को भ्रमण गरिएकोमा उक्त संस्थाको स्थापना, संरचना, संचालनमा रहेको स्कुलसम्बन्धी जानकारी लिइएको छ ।

आगामी दिनमा प्रभावकारी रुपमा वित्तीय साक्षरता अभिवृद्धिका लागि सेबोनद्वारा नेपालमा स्थापना गरिने पुँजी बजार प्रशिक्षण इन्स्टिच्युटको संचालनमा ल्याउन समन्वय तथा सहकार्य गर्ने छलफल भएको छ ।

यस भ्रमणले भारतीय बजारको नियमन व्यवस्था, कानुनी व्यवस्था, नियामकीय प्रविधिको विकास साथै नियमन निकायले बजारको विश्वसनीयता अभिबृद्धि गर्नका लागि खेल्नु पर्ने भूमिका र बजारको अनुगमन तथा सुपरिबेक्षण के कसरी गर्नु पर्दछ भन्ने विषयमा जानकारी प्राप्त भएको छ ।

अध्ययन भ्रमणका क्रममा नियामक फ्रेमवर्क, नियामक प्रणालीको डिजिटलाइजेशन, एआई आधारित निगरानी प्रणाली, लगानीकर्ता गुनासो संयन्त्र, व्यापार प्रणाली एवं वित्तीय साक्षरता का सम्बन्धमा अन्तरक्रियात्मक छलफल समेत भएको थियो ।


क्लिकमान्डु