सेयर बजारबाट राज्यले पाउने पुँजीगत लाभकर २८.०७% ले घट्यो



काठमाडौं । सरकारले बढी कर उठाउन भन्दै करका दर बढाउँदा पनि पुँजीगत लाभकर भने २८.०७ प्रतिशतले घटेको छ ।

अघिल्लो आवको तुलनामा गत आवमा राज्यले पुँजी बजारबाट पाउने पुँजीगत लाभकर ४ अर्ब ४ करोड रुपैयाँ (२८.०७ प्रतिशत) ले घटेको छ ।

गत आवमा राज्यले पुँजी बजारबाट १० अर्ब ३५ करोड रुपैयाँमा मात्रै पुँजिगत लाभकर पाएको छ । अघिल्लो आवमा भने १४ अर्ब ३९ करोड रुपैयाँ पुँजीगत लाभकर पाएको थियो ।

गत आवमा सरकारले बजेटमार्फत करका दरमा पनि हेरफेर गरेको थियो । गत आवको बजेटमा एक वर्षभित्र सेयर बिक्री गर्दा पुँजीगत लाभकर ७.५ प्रतिशत र एक वर्ष भन्दापछि सेयर बिक्री गर्दा लाभकर ५ प्रतिशत तिर्नुपर्ने व्यवस्था गरेको थियो । तै पनि कर संकलनमा भने सुधार आउन सकेको छैन ।

गत आर्थिक वर्षमा सेयर बजार ८७३.९२ अंकले बजार घटेको छ । बजार घट्दा लगानीकर्ताको सम्पती मात्रै घटेको छैन, राज्यले पाउने कर समेत घटेको छ । गत भदौ २ गते सेयर बजारले इतिहास रचेको थियो । उक्त दिन बजार ३१९८.६ बिन्दुमा रोकिएको थियो ।

यो वर्ष कारोबार रकम पनि २० अर्बको हाराहारीमा पनि भएको थियो । तर, गत वर्ष राष्ट्र बैंकले मौद्रिक नीति मार्फत लिएको ४,१२ करोडको नीतिका कारण पनि बजारको विकास हुन नसकेको लगानीकर्ताको बुझाई छ ।


क्लिकमान्डु