गत आवमा हालसम्मकै उच्च कित्ताकाट, उपत्यकामा मात्रै ६३ हजार जग्गाको खण्डिकरण



काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा हालसम्मकै उच्च कित्ताकाट भएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार देशभर गत वर्ष ६ लाख ९४ हजार २१३ जग्गा कित्ताकाट भई १६ लाख १२ हजार १३५ कित्ता कायम भएको छ । जुन हालसम्मकै उच्च हो ।

यसअघि वार्षिक औसतमा ५ लाखको हाराहारीमा जग्गा कित्ताकाट हुँदै आएको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा ५ लाख ६५ हजार ६५१ जग्गा कित्ताकाट भई १२ लाख ९६ हजार ७३१ कित्ता कायम भएको थियो । त्यस्तै, आव २०७६/७७ मा ४ लाख ४७ हजार ७०५ जग्गा कित्ताकाट भई १० लाख ६ हजार ६४७ जग्गा कित्ता र आव २०७५/७६ मा ३ लाख ६० हजार ९१ जग्गा कित्ताकाट भई ८ लाख १२ हजार ३०२ जग्गा कायम भएको थियो ।

सरकारले जग्गा खण्डीकरणमा लामो समयदेखि रोक लगाए पनि खण्डीकरण भने रोकेको छैन ।

जग्गा खण्डीकरणमा शर्तसहित कित्ताकाट गर्न पाउने व्यवस्थाले गर्दा कित्ताकाट गर्न नरोकिएको विभागको भनाइ छ । तर, पछिल्लो समय देशभर उच्च कित्ताकाट उच्च हुन थालेपछि सरकारले कडाइ गर्ने नीतिसहित भूउपयोग नियमावली जारी गरेको छ ।

उक्त नियामवलीमा जग्गा कित्ताकाटका लागि विभिन्न १० वटा क्षेत्रमा जग्गाको वर्गीकरण गरेपछि मात्रै किनबेच गर्न पाउने जनाएको छ । जसमा सरकारले कृषि क्षेत्र, आवासीय क्षेत्र, वन क्षेत्रलगायत विभिन्न क्षेत्रमा जग्गाको वर्गीकरण गरे मात्रै खरिद बिक्री गर्न पाउने व्यवस्था गरेको छ ।

सरकारले तत्कालका लागि कृषि क्षेत्र वा गैरकृषि क्षेत्र हो वा होइन भन्ने सिफरिस समावेश गरेर मात्रै जग्गा बिक्री गर्न सक्नेछन् । तर, आगामी ६ महिनापछि भने सरकारले तोकेको १० वटा क्षेत्रमा जग्गाको वर्गीकरण गर्नुपर्ने हुन्छ ।

सरकारले काठमाडौं उपत्यकामा कृषि क्षेत्र भएमा ५ सय वर्गमिटरभन्दा कम क्षेत्रफल कित्ताकाट गर्न नपाउने व्यवस्था गरेको छ ।

तराई र भित्री मधेसमा ६ सय ७५ वर्गमिटर क्षेत्रफलभन्दा कम क्षेत्रफल हुने गरी कित्ताकाट गर्न नपाउने जनाएको छ । त्यसैगरी, खण्ड (क) र (ख) मा उल्लेखित क्षेत्रबाहेकका भूभागमा १ हजार वर्गमिटर क्षेत्रफलभन्दा कम क्षेत्रफल हुने गरी कित्ताकाट गर्न नपाउने राजपत्रमा उल्लेख थियो ।

सरकारले ऐनको दफा (४) बमोजिम आवासीय क्षेत्रमा वर्गीकरण गरेको जग्गालाई न्यूनतम १०३ वर्ग मिटरभन्दा कम क्षेत्रफल र अनुपातमा फरक पर्ने गरी हुने गरी कित्ताकाट गर्न नपाउने व्यवस्था गरेको छ । साथै, आवासीय क्षेत्रमा ५ सय वर्गमिटरभन्दा सानो कित्ताको हकमा चौडाईभन्दा लम्बाई ४ गुणाभन्दा बढी हुने गरी कित्ताकाट गर्न नपाउने भएको छ ।

उपनियम (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए पनि कुनै कित्ताको आकार र क्षेत्रफल अमिल्दो भई सिमानाको अर्को कित्ताकाट निश्चित क्षेत्रफल समावेश गरी प्लट मिलन गर्न उपयुक्त देखिएमा सोको प्लट मिलानको लागि कित्ताकाट गर्न सकिनेछ ।

गत जेठ अन्तिममा जारी भएको नियमावलीले कित्ताकाट कम हुने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अपेक्षा गरेको छ । त्यस्तै, उक्त नियमावली लागू भएसँगै असारबाट देखिन थालेको छ ।

विभागको तथ्याङ्कअनुसार असार महिनामा हालसम्मकै कम कित्ताकाट भएको छ । असार महिनामा १६ हजार ५९९ जग्गा कित्ताकाट भई ३७ हजार २६८ कित्ता कायम भएको छ । अहिले पहाडबाट तराई र तराईबाट सहरमा बसाइसराइ गर्ने प्रवृत्तिले गर्दा शहर क्षेत्रमा उच्च कित्ताकाट हुने गरेको विभागको भनाइ छ ।

त्यसैगरी, आव २०७८/७९ मा २ लाख ९८ हजार १४ जग्गा कित्ताकाट भई ७ लाख ३६ हजार ४५२ कित्ता कायम भएको जग्गा किनबेच भएको छ ।

इनरुवाबाट मात्रै २६ हजार जग्गा कित्ताकाट
देशभर करिब ७ लाख जग्गा कित्ताकाट हुँदा सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीबाट भएको छ ।

सो मालपोत कार्यालयबाट मात्रै आव २०७८/७९ मा २६ हजार ८३४ जग्गा कित्ताकाट भई ६६ हजार ३९१ कित्ता कायम भएको छ ।

त्यसैगरी, बेलवारी मोरङमा २३ हजार २६५ जग्गा कित्ताकाट भई ५८ हजार १ कित्ता, भद्रपुर झापामा २७ हजार ५०६ जग्गा कित्ताकाट भई ५७ हजार २६१ जग्गा, नेपालगञ्ज बाँकेमा २३ हजार ५८१ जग्गा कित्ताकाट भई ५३ हजार २७१ कित्ता, जनकपुरधाम धनुषामा २२ हजार ५९१ जग्गा कित्ताकाट भई ५२ हजार ६७२ कित्ता, लगनखेलमा १६ हजार ९३४ जग्गा कित्ताकाट भई ४९ हजार ४५७ कित्ता, धनगढी कैलालीमा १९ हजार ५३९ जग्गा कित्ताकाट भई ३९ हजार ९६९ कित्ता, कलैया बारामा १४ हजार जग्गा कित्ताकाट भई १४ जजार ७७५ जग्गा, पर्सामा १६ हजार ७४५ जग्गा कित्ताकाट भई र चितवनमा १४ हजार २७६ जग्गा कित्ताकाट भई ३४ हजार ५७५ कित्ता कायम भएको विभागको तथ्याङ्कले देखाउँदछ ।

उपत्यकामा ६३ हजार जग्गा कित्ताकाट
गत वर्ष उपत्यकामा मात्रै ६३ हजार ४२७ जग्गा कित्ताकाट भई १ लाख ६७ हजार ९०५ कित्ता कायम भएको छ । विभागको तथ्याङ्कअनुसार गत वर्ष लगनखेलमा मात्रै १६ हजार ९३४ जग्गा कित्ताकाट भई ४ लाख ९४ हजरा ५७ कित्ता कायम भएको छ ।

लगनखेलपछि भक्तपुरमा १३ हजार १०५ जग्गा कित्ताकाट भई ३३ हजार २४८ कित्ता, कलंकी कार्यालयबाट ११ हजार ४३९ जग्गा कित्ताकाट भई २८ हजार ९८९ कित्ता, साँखुबाट ७ हजार ७०५ जग्गा कित्ताकाट भई २० हजार ५५० कित्ता, चावहिलबाट ६ हजार ५२८ जग्गा कित्ताकाट भई १४ हजार १४७ कित्ता, मनमैजुबाट ३४ सय ८८ जग्गा कित्ताकाट भई ११ हजार २७९ कित्ता, टोखाबाट २१ सय ७ जग्गा कित्ताकाट भई ५७ सय ८१ कित्ता, डिल्लीबजारबाट १८ सय ६६ जग्गा कित्ताकाट भई ३८ सय ४८ कित्ता र गाटीखेलबाट २५५ जग्गा कित्ताकाट भई ६०६ कित्ता कायम भएको छ ।


अरिष्मा मोक्तान