व्यापारघाटा १७ खर्ब १६ अर्ब, असारमा मात्रै १ खर्ब ५२ अर्बको आयात



काठमाडौं । नेपालले हालसम्मकै उच्च व्यापाराघाटा व्यहोरेको छ ।

गत आर्थिक वर्षमा १७ खर्ब १६ अर्ब १९ करोड ९१ लाख रुपैयाँ बराबरको व्यापारघाटा भएको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार असार महिनामा मात्रै १ खर्ब ५२ अर्ब रुपैयाँको आयात र १३ अर्ब ६३ करोड रुपैयाँको निर्यात भएको छ ।

गत आर्थिक वर्षमा बजेटको आकारभन्दा व्यापार घाटा बढी भएको हो । सरकारले गतवर्ष १६ खर्ब ३२ अर्ब रुपैयाँको बजेट ल्याएको थियो । बजेटको आकारभन्दा व्यापार ८४ अर्ब रुपैयाँले बढि भएको हो ।

आर्थिक वर्ष २०७७/७८ मा भने १३ खर्ब ९८ अर्ब रुपैयाँ बराबर व्यापार घाटा भएको थियो । गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षभन्दा २२.७ प्रतिशतले व्यापार घाटा बढेको हो ।

नेपालले गत आर्थिक वर्षमा १९ खर्ब १५ अर्ब ६५ करोड ७४ लाख रुपैयाँको वस्तु आयात गरेको छ । आव २०७७/७८ मा नेपालले १५ खर्ब ३९ अर्ब ३ करोड ७० लाख रुपैयाँ बराबरको आयात गरेको थियो । एक वर्षको अवधिमा आयात २४.४१ प्रतिशतले बढेकाले व्यापार घाटा उच्च दरमा बढेको हो ।

यस्तै, गत आर्थिक वर्षमा १ खर्ब ९९ अर्ब ४५ करोड २ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । आव २०७७/७८ मा भने १ खर्ब ४१ अर्ब १२ करोड ४० लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो । गत आर्थिक वर्षमा निर्यात ४१.३४ प्रतिशतले बढेको थियो ।

नेपालले गत आर्थिक वर्षमा एक वर्षको अवधिमा २१ खर्ब १५ अर्ब ११ करोड ५६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ ।


क्लिकमान्डु