वर्षमा ८७३ अंकले गिरावट आएको सेयर बजारमा अन्तिम दिन सामान्य सुधार



काठमाडौं । यो आर्थिक वर्षका लागि सेयर कारोबारको अन्तिम दिन सामान्य सुधार देखिएको छ ।

शुक्रबार बजार ७.९३ अंकले बढेर परिसूचक २००९.४६ बिन्दुमा रोकिएको छ । इन्ट्रा डे कारोबारमा १९९० बिन्दुमा पुगेको बजार अन्तिम समयमा बढेको छ ।

२३१ कम्पनीको ४० लाख ५१ हजार ७७१ कित्ता सेयर १ अर्ब ४५ करोड ६२ लाख ५९ हजार ८३२ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार देखिएको छ । आर्थिक वर्षको अन्तिम दिनको २ घन्टाको कारोबारले लगानीकर्तालाई उत्साहित बनाएको छ । तर यो वर्षभरीको कारोबार हेर्दा बजारमा निकै गिरावट देखिएको छ ।

यो वर्ष बजारमा ८७३.९२ अंकको गिरावट आएको छ । गत असार ३१ गते बजार मापन गर्ने सूचक २८८३.३८ बिन्दुमा रहेको थियो । एक वर्षको अवधिमा ८७३.९२ अंकले घटेर २००९.४६ बिन्दुमा रोकिएको छ । यो बर्ष बजारमा निकै उचार चढाब रह्यो । यो आर्थिक वर्षको कारोबारमा बजारले नयाँ उचाइ रच्यो ।

नेपाली पुँजी बजारको इतिहासमा सेयर बजार यो वर्ष ऐतिहासिक रह्यो । लगानीकर्ता पनि निकै मालामाल बने । बजारमा आएको गिरावटले लगानीकर्ता जसरी मालामाल बने त्यसैगरी कतिपयले आफ्नो सम्पती पनि गुमाएको जानकार लगानीकर्ताको भनाइ छ ।

गत असार मसान्तमा २८८३.३८ बिन्दुमा रहेको बजार साउन लागेपछि निरन्तर बढेको थियो । बजारमा क्रमशः सुधार आउँदा बजारले भदौ २ गते नयाँ इतिहास रचेको थियो । उक्त दिन बजार ३१९८.६ बिन्दुमा रोकिएको थियो । त्यसयताको कारोबारले उक्त रेकर्डलाई तोड्न सकेको छैन ।

आवको अन्तिम दिन पनि बजारले लगानीकर्तालाई सामान्य खुसी दिएर गएको छ । गत साउनबाट बढेको बजार आउने साउनबाट के हुने हो आम लगानीकर्ताको चासोको बिषय बनेको छ ।


क्लिकमान्डु