महाप्रसादबाट ६ वर्षमा एम अधिकारी बनेका गभर्नरले राजीनामा दिनुपर्छः श्रेष्ठ



काठमाडौं । सांसद नारायणकाजी श्रेष्ठले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई राजीनामा दिन सुझाव दिएका छन् ।
नेकपा एमालेको अर्थ तथा योजना विभागमा नाम फरक गरेर बसेको भन्दै विरोध भएपछि उनलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका हुन् ।

नेपाल राष्ट्र बैंक ऐन–२०५८ को दफा २१ ले गभर्नर, डेपुटी गभर्नर र सञ्चालक समितिको पदाधिकारी कुनै दलमा संलग्न हुनुहुँदैन भनेर भनेको छ । उक्त व्यवस्था अनुसार अधिकारीले राजीनामा दिनु उपयुक्त हुने श्रेष्ठको तर्क छ ।

‘उहाँ त्यहाँ बस्न मिल्छ की मिल्दैन, पुष्टि भएको छैन तर बाहिर आएको चर्चा अनु्सार एम अधिकारी भनेको उहाँ नै हो’ उनले भने ‘कित होइन भनेर प्रमाणसहित कागजात चाहियो । एम अधिकारी नाम गरेको अर्थ तथा योजना विद त्यही जिल्लाको मान्छे फलानो हो भनेर भन्नु पर्यो हैन भने राजीनामा दिनु उपयुक्त हुन्छ ।’

२०७३ मा महाप्रसाद अधिकारी त्यो विभागको सदस्य रहेको र ६ वर्षपछि नाम परिवर्तन गरेर अर्को हो भनेर भन्नु गलत भएको उनको तर्क छ ।

६ वर्षको अवधिमा महाप्रसाद अधिकारी कसरी सर्ट फर्ममा एम अधिकारी भए त्यो अन्योल भएको उनको भनाइ छ ।
‘ नेकपा एमालेको अर्थ तथा योजना विभागको एक जना सदस्य २०७३ सालमा महाप्रसाद अधिकारीको नाममा हुनुहुन्थ्यो’ उनले भने, ‘त्यही अधिकारीको नाममा भएको व्यक्ति अहिले एम अधिकारीको नाममा रुपान्तरित भएर अर्थ तथा योजना विद भनेर राखिएको छ ।’

अहिले आम रुपमा भित्र भित्रै सबैको बुझाई एम अधिकारी उहाँ नै होला भन्ने बुझाई रहेको श्रेष्ठको भनाइ छ । ‘पहिला घोषित थियो, त्यही महाप्रसाद अधिकारीको नाममा त्यही जिल्लाको अर्को हो होला त ?’ उनले भने, ‘ एम अधिकारी भनेको उहाँ नै होला भन्ने लागेको छ ।’

एमालेले वा गभर्नरले विश्वसनीय रुपमा खण्डन गर्न नसकेको र खण्डन गर्ने सक्ने अवस्था नभएको उनको भनाइ छ ।


क्लिकमान्डु