गत आर्थिक वर्षमा ओली सरकारले गर्यो ४०.५० प्रतिशत बजेट रकमान्तर



काठमाडौं । तत्कालीन केपी ओली नेतृत्वको सरकारले गत आर्थिक वर्ष २०७७/७८ मा कुल बजेटको ४०.५० प्रतिशत बजेट रकमान्तर गरेको छ ।

महालेखा परीक्षक कार्यालयको ५९औं प्रतिवेदनले उक्त आवको कुल बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख रुपैयाँमध्ये ५ खर्ब ९७ अर्ब २४ करोड ९८ लाख रुपैयाँ अर्थात् ४०.५० प्रतिशत रकम रकमान्तर भएको देखाएको छ ।

जसमध्ये गत आवको अन्तिम महिना असारमा मात्रै ४२ अर्ब ५५ कराेड २५ लाख रुपैयाँ र असारको अन्तिम साता मात्रै ६ अर्ब ११ करोड २० लाख रुपैयाँ रकमान्तर भएको छ ।

शुरु बजेट व्यवस्था नभएका विभिन्न ११ कार्याक्रममा रकमान्तर गरी १ अर्ब ३१ करोड ९७ लाख ४५ हजार बजेट कायम गरी १ अर्ब १४ करोड ७२ लाख ४१ हजार रुपैयाँ खर्च भएको छ ।

कार्यालयले शुरु बजेट बिनियोजन नभएको कार्यक्रममा रकमान्तरबाट थप गरी खर्च गर्नु नियमावली तथा बजेट सिद्दान्त अनुरुप नभएको बताएको छ ।


क्लिकमान्डु