विवाद भएपछि एक्यानको मौद्रिक नीति छलफलमा गएनन् गभर्नर



काठमाडौं । विवाद उत्पन्न भएपछि बुधबार भएका नेपाल चार्टर्ड एकाउन्टेन्ट संघको कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर गएनन् ।

बुधबार दिउँसो प्रमुख अतिथिका रुपमा सहयोगी हुने कार्यक्रम भए पनि गभर्नर अधिकारी पुगेनन् । बरु प्रतिनिधिका रुपमा डेपुटी गभर्नर बमबहादुर मिश्रलाई पठाएका छन् ।

एक्यानले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमाथिको छलफलका लागि गभर्नर महाप्रसाद अधिकारीसँग समय लिएकाे थियाे । गभर्नर बाचा गरेकाे समय अनुसार बुधबारका लागि कार्यक्रम तय गरिएको थियो ।

गभर्नर अधिकारी आफै पनि चार्टर्ड एकान्टेन्ट भएकाले एक्यानका सबैजसो कार्यक्रममा पुग्ने गरेका छन् । तर मौद्रिक नीतिमाथिको छलफल तथा सुझाव लिनका लागि हरेक दिन सबै जसो कार्यक्रममा पुग्दै आएका गभर्नर अधिकारी भने एक्यानको कार्यक्रममा सहभागी नहुनुलाई विवाद छल्न खोजेको रुपमा चित्रण गरिएकाे छ ।

केन्द्रीय बैंक यति बेला आगामी आवको मौद्रिक नीति निर्माणको चरणमा छ । यसका लागि गभर्नरले छलफल र सुझाव संकलनको कामलाई तीव्रता दिएका छन् ।

तर बुधबार सञ्चारमाध्यममा गभर्नर अधिकारी कानून विपरीत नेकपा एमाले अर्थ तथा योजना विभागको सदस्य भएको समाचार प्रकाशति भएपनि उनको आलोचना शुरु भएको छ ।

नेपाल राष्ट्र बैंक ऐनको दफा २१ (क)मा गभर्नर कुनै पनि राजनीतिक पार्टीको सदस्य तथा पदाधिकारी हुन नहुने व्यवस्था छ ।

गभर्नर अधिकारी यसअघि सुरेन्द्र पाण्डे अध्यक्ष रहेको एमाले, अर्थ तथा योजना विभागमा सदस्य थिए । तत्कालीन समयमा उनलाई खोटाङका महाप्रसाद अधिकारी भनिएको थियो भने अहिले खोटाङका एम अधिकारी भनिएको छ ।

उक्त विभागका प्रमुख घनश्याम भुसालले एम अधिकारी भनेको गभर्नर अधिकारी नभएको दाबी गरिसकेका छन् भने केही एमालेका नेताहरुले एम अधिकारी एनजीओकर्मी भएको दाबी गर्दै आएका छन् । गभर्नर स्वयमले पनि आफू एम अधिकारी भन्ने नभएको र उक्त व्यक्तिलाई नचिन्ने दाबी गरिसकेका छन् ।

तर सामाजिक सञ्जाल, सञ्चारमाध्यमदेखि संसदसम्म यस विषयमा तीव्ररुपमा प्रश्न उठे पनि एमालेले एम अधिकारी को हुन् भन्ने विषयमा स्पष्ट पार्न सकेको छैन । खोटाङमा एम अधिकारी नाम गरेका एमालेका सदस्य पनि नभएको एमालेको वेवसाइटमा देखिन्छ ।


क्लिकमान्डु