सकिनै लाग्यो असार, किसानलाई चाँडो मल उपलब्ध गराउन सांसदको माग



काठमाडौं । प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसदहरुले असार सकिन लाग्दा पनि किसानले रासायनिक मल नपाएको भन्दै चाँडो उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

सांसद विमला विश्वकर्माले किसानले मल बीउ नपाएर सधैँ आन्दोलन गर्नुपर्ने अवस्था रहेको बताइन् । सांसद विष्णु शर्माले सरकारले मङ्सिर पुसमा ठेक्का गर्नुपर्नेमा असारमा गर्दा सधैँ किसानले मल नपाएको बताए ।

सांसद सत्यनारायण शर्मा खनालले अहिले पुरानो बीउ सकिएको र नयाँ बीउ देशभर पु¥याउन नसकिएको तथा मनसुन सुरु भएपछि खेत रोप्न मल नभएको बताए । सांसद हितबहादुर तामाङले कृषि उत्पादन बढाउने सरकारको घोषणा भए पनि खेतीको समयमा मल नपाउँदा नारा नारामै सीमित हुने अवस्था आएको आएको बताए ।

सांसद सरलाकुमारी यादवले सरकारले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रलाई प्राथमिकता दिने भने पनि किसानले महसुस गर्न नसकेको बताइन् । सांसद शान्तिमाया तामाङ पाख्रिनले किसानले मल तथा विद्यार्थीले पुस्तक नपाएको गुनासो गरिन् ।

सांसद सञ्जयकुमार गौतमले बाँके र बर्दियामा कपास विकास समिति विघटन गरेर किसानलाई जग्गा उपलब्ध गराउनुपर्ने माग गरे । सांसद लक्ष्मी परियारले वर्षाको समयमा उदयपुरका धेरै भूभागलाई कोसी कटानले क्षत्विक्षत बनाएकाले जोखिममा परेका नागरिकलाई अल्पकालीन र दीर्घकालीन व्यवस्थापनको कार्यक्रम ल्याउनुपर्ने बताइन् । सांसद लक्ष्मीकुमारी चौधरीले बलत्कारका घटनामा सत्यतथ्य बुझेर र पीडितले न्याय पाउनुपर्नेमा जोड दिइन् ।

सांसद शेरबहादुर तामाङले सिन्धुपाल्चोक सङ्कटग्रस्त घोषणा भए पनि सरकारले नागरिकलाई त्यसबाट मुक्त बनाउन नसकेको बताए । सांसद सत्य पहाडीले डोल्पाको दुनै पहिराका कारण जोखिममा रहेको र त्यसको व्यवस्थापनका लागि बजेट पर्याप्त नभएको उल्लेख गरे ।


क्लिकमान्डु