राज्यलाई नटेर्ने मकवानपुरका पाँच क्रसर उद्योगमा तालाबन्दी



काठमाडौं । राजस्व नबुझाउने मकवानपुरका पाँच क्रसर उद्योगमा तालाबन्दी गरिएको छ ।

पटक–पटक ताकेता गर्दा पनि तोकिएको राजस्व नबुझाएको भन्दै तालाबन्दी गरिएको बताइएको छ ।

लिखित र मौखिकरुपमा पटकपटक जानकारी गराएको तर राजस्व नबुझाएकाले तालाबन्दी गरिएको मकवानपुरगढी गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित क्रसर उद्योगमा गाउँपालिका उपाध्यक्ष मनकुमारी नेपालीको नेतृत्वमा गएको टोलीले तालाबन्दी गरेको बताइएको छ ।

उद्योगले गाउँपालिकालाई एक करोड ५४ लाख राजस्व दाखिला गर्नुपर्ने भएको तर दाखिला नगरेकाले तालाबन्दी गर्नुपरेको उपाध्यक्ष नेपालीले जानकारी दिए ।

मकवानपुरगढी गाउँपालिका–५ स्थित साइबाबा क्रसर उद्योगले २८ लाख, आधुनिक क्रसर उद्योगले २३ र आमभञ्ज्याङ एग्रिगेरले २८ लाख तिर्न बाँकी छ ।

त्यस्तै मकवानपुरगढी–२ स्थित नमूना बालुवा उद्योगले ३० लाख तथा मकवानपुरगढी–६ मा रहेको सामरी खोला बालुवा उद्योगले ४५ लाख राजस्व भुक्तानी गर्न बाँकी रहेको बताइएको छ ।

ती उद्योगले असार १५ गतेसम्म भुक्तानी गर्ने लिखित सहमति गरे पनि त्यसको पालना नभएपछि बाध्य भएर तालाबन्दी गरिएको गाउँपालिका आर्थिक विकास समितिका संयोजक रहेका गाउँपालिका–६ का वडाध्यक्ष कृष्णप्रसाद बजगाईंले बताए ।


क्लिकमान्डु