विदेशिएका युवाहरूलाई सामाजिक सुरक्षाको दायरमा ल्याउँछौं: मन्त्री कुँवर




काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले विदेशिएका युवाहरूलाई सामाजिक सुरक्षाको दायरमा ल्याउने बताएका छन् ।

बिहीबार तराई विकास तथा सञ्चार केन्द्रले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री कुँवरले देशका दक्ष युवाहरू रोजगारीका लागि विदेशिने भएकाले उनीहरूलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटीने बताएका हुन् ।

‘वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्नका लागि भएका कानुनी समस्यालाई समाधानका लागि टिम बनाएर पहल गरिरहेको छ,’ उनले भने ।

वैदेशिक रोजगारीमा पसिना बगाउने कामदारको मुल्य र सुरक्षाको लागि सरकारले विभिन्न निकायसँग पहल गरेर काम गर्नुपर्ने उनको भनाइ छ ।

त्यसैगरी, मन्त्री कुँवरले सामाजिक सुरक्षा कोषलाई बहुआयामिक बनाउन आफुले पहल गर्ने बताएका छन् । उनले श्रमिकलाई न्याय मिल्ने गरी सामाजिक सुरक्षा कोषलाई सरल, सहज र बहुआयामिक बनाइन आफुले पहल गर्ने जिकिर गरे ।

मन्त्रालयका सचिव एकनारायण अर्यालले पनि वैदेशिक रोजगारीमा गएका कामदारलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्नुको विकल्प नरहेको बताए । सामाजिक सुरक्षा कोष नेपालको गरिबी हटाउन र जागिरबाट अवकाश पाइसकेपछिको जिवन बिताउन एउटा महत्वपूर्ण हतियार बन्ने उनले उल्लेख गरे ।


क्लिकमान्डु