इजरायल जान राेकिएका बाँकी कामदारलाई एक महिनाभित्रै पठाइने



काठमाडौं । परीक्षामा छनोट भए पनि श्रम भिसामा इजरायल जान नपाएका बाँकी कामदारलाई सरकारले एक महिनाभित्रै पठाउने तयारी गरेको छ ।

वैदेशिक रोजगार विभागले दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी कामदार (केयरगिभर)का रुपमा योग्य भएका बाँकीलाई एक महिनाभित्र पठाउने तयारी गरेको हो ।

यसअघि परीक्षा दिएकामध्ये ११ सय ७५ जना छनोट भएका थिए । छनोट भएकाहरुलाई गत माघ ५ गतेबाट इजरायल पठाउन शुरु गरिएको थियो । तर तत्कालीन समयमा जम्मा २९७ जना मात्रै इजरायल पुगेका थिए ।

तत्कालीन समयमा इजरायलको परराष्ट्र मन्त्रालयसम्बद्व कर्मचारीहरूको श्रम विवादका कारण इजरायलले कामदार लैजान रोकेको थियो ।

जसले गर्दा छनौट भएका बाँकी कामदार चार महिनादेखि इजरायल जान पाएका छैनन् । विभागका निर्देशक डम्बर सुनावरका अनुसार एक महिनाभित्रै बाँकी कामदारलाई पठाउने तयारी भइरहेको बताए ।

यसका लागि कामदारको पुनः स्वास्थ्य परीक्षण र असार २६ गतेसम्म कोभिड–१९ विरुद्धको खोप पूर्ण लगाएको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

विभागले एक पटकमा १ सय जनाभन्दा कामदार पठाउने तयारी गरेको छ ।

हाल इजरायल जाने नेपालीले टिकट शुल्कवापत करिब ७० हजार रूपैयाँ तिनुपर्छ । इजरायलमा कामदारको भिसा अवधि ५ वर्षको हुन्छ भने मासिक २ लाख रुपैयाँ आम्दानी हुन्छ ।

इजरायल सरकारले केयरगिभरसँगै कृषि तथा निर्माण क्षेत्रमा पनि नेपाली कामदार लैजान इच्छुक देखाएको छ ।


क्लिकमान्डु