भारतका आपूर्ति मन्त्रीले नेपालमा खाद्यान्न निर्यात नरोक्ने प्रतिवद्धता जनाउनु भएको छः मन्त्री बडू



काठमाडौं । भारत सरकारले नेपालमा खाद्यान्न निर्यातमा रोक नलगाउने प्रतिवद्धता जनाएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिएका छन् ।

गत जेठ ३० गते स्विजरल्याण्डको जेनेभामा भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलसँग भएको भेटमा खाद्यान्न निर्यातमा रोक लगाउने भारत सरकारको नीतिका विषयमा छलफल भएको मन्त्री बडूले बताए ।

‘मैले खाद्यान्न निर्यातमा रोक लगाउने भारत सरकारको निर्णयको विषयमा चासो राखेको थिए,’ बडूले भने, ‘भारतका मन्त्रीज्यूले अन्य देशमा खाद्यान्न निर्यातमा रोक लगाए पनि नेपालमा कुनै प्रतिबन्ध नलगाउने बचन दिनु भएको छ । उहाँले नेपाल र छिमेकी देशलाई अप्ठ्यारो पर्न नदिने समेत प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।’

विश्व व्यापार संघको मन्त्रिस्तरिय बैठकमा भाग लिन बिभिन्न देशका मन्त्री स्विजरल्याण्ड पुगेका थिए । मन्त्री बडूले उक्त अवसरमा भारतीय समकक्षीसँग साइडलाइन वार्ता गरेका थिए ।

हाल नेपालले भारतबाट चामल, गहुँ, चिनी लगायतका कैयौं खाद्यान्न आयात गर्ने गरेको छ । भारतले यी वस्तुको निर्यातमा रोक लगाए नेपालमा खाद्यान्नको चरम अभाव हुने सम्भावना छ ।

भारत सरकारले चामल, गहुँ र चिनीको निर्यातमा रोक लगाउने घोषणा गरिसकेको छ । भारत सरकारले चिनी निर्यातमा रोक लगाउने घोषणा गरेपछि नेपालमा चिनीको मूल्य बढ्दै आएको छ । यस्तै चामल र पिठोको मूल्य समेत बढेको छ ।

मन्त्री बडू भारत सरकारले अन्य देशमा निर्यात नगरेपनि नेपालमा भने नियमित आपूर्ति गर्ने प्रतिवद्धता जनाएकाले खाद्य संकटको सामना गर्नु नपर्ने बताउँछन् ।


क्लिकमान्डु