महानगरको आर्थिक विधेयक पारित: घरजग्गा करमा १० प्रतिशत छुट, ४०% छुट कसले पाउँछन् ?



काठमाडौँ । आर्थिक बर्ष २०७९/०८० का लागि काठमाडौँ महानगरपालिकाको आर्थिक विधेयक पारित भएको छ । राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा बसेको नगर सभा ११ औँ अधिवेशनको चौथो बैठकले संशोधनसहित विधेयक पारित गरेको हो ।

सभाका महानगर प्रमुख शाहले करका दरमा फेरबदल गर्नका लागि आएका प्रस्तावमा राजस्व विज्ञहरुसँग परामर्शका गर्नुपर्ने देखिएको बताए । ‘कर तिरेवापत करदातालाई केही सुविधा दिने कुरा आएका छन् । पूर्वाधारका कुरा आएका छन् । जनस्वास्थ्य र वातावरणीय स्वच्छता र व्यवस्थापनका कुरा आएका छन्’ उनले भने ‘सामुदायिक कुकुर व्यवस्थापनको कुरा आएको छ । सडकमा भएका सहयोगापेक्षी व्यवस्थापनका कुरा आएका छन् । यी सुझावहरुलाई ध्यानमा राख्नेछौँ ।’

विधेयक पारित भएको घोषणा गर्दै शाहले महानगरपालिकाले असुल गर्ने विभिन्न शीर्षकका कर, दस्तुर र शुल्क पुनरावलोकन गर्ने सुझाव प्राप्त भएको जनाए ।

प्रमुख शाहले असार १० गते बसेको नगर सभा ११ औँ अधिवेशनको तेस्रो बैठकमा अर्थ सम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न तयार पारिएको आर्थिक बर्ष २०७९/०८० का लागि आर्थिक विधेयक पेश गरेका थियो । विधेयकमा स्थानीय कर, दस्तुर, शुल्क, जरिवाना संकलन तथा छुट तथा अन्य आय संकलनको प्रशासनिक व्यवस्थापनको प्रबन्ध छ ।

विधेयकमा सम्पत्ति कर, भूमिकर, भूमिकर, बहाल कर, व्यवसाय कर, जडीबुटी, कवाडी र जीवजन्तु कर, सवा १ करोडमा ०.०१० अर्थात् १ हजार हुनेछ । त्यसपछिका हरेक १ करोडमा क्रमशः ०.०१५, ०.०२०, ०.०४०, ०.०६०, ०.१००, ०.३००, ०.४५० प्रस्ताव गरिएको छ । १० करोडभन्दा माथि जतिसुकै भए पनि ०.६०० प्रतिशत हुनेछ ।

भवन मूल्याङ्कन दर, भवनको ह्रास कट्टी प्रतिशत र ह्रास कट्टी गर्ने अवधि, सम्पत्ति कर प्रयोजनका लागि घरजग्गाको प्रतिआना मूल्य अनूसूचीहरुमा क्रमश राखिएको छ । घर जग्गाको प्रतिआना मूल्यलाई १७७ बुँदामा उल्लेख गरिएको छ । यसैगरी निकास भएका र नभएका सडकका दायाँ वायाँ सहायक पिच मोटर बाटो, पिच मोटर बाटो र गोेरेटो बाटोमा बाँडेर छुट प्रतिशत उल्लेख गरिएको छ ।

बहाल करमा आवासीय, कार्यालय प्रयोजन र व्यवसायिक गरी ३ भागमा बाँडेर फ्लोर एरिया, कार्पेट एरियाका आधारमा बहाल दर निर्धारण गरिएको छ । वार्षिक १ लाखभन्दा कम बहाल आय भएका र अन्य कुनै पनि आम्दानीको स्रोत नभएका करदातालाई वडा समितिले निर्णय गरेर छुट दिन सक्नेछ ।

पुँजीगत लगानी, व्यवसायको प्रकार र आर्थिक कारोवारका आधारमा व्यवसाय करको दर सम्बन्धी व्यवस्था छ । यसमा ९ क्षेत्रका व्यवसायअन्तर्गतका ३९६ वटा व्यवसायको दर उल्लेख गरिएको छ । यसमध्ये सबैभन्दा धेरै व्यापारिक बस्तुमा ९० प्रकार छन् । व्यवसाय करका क्षेत्रहरुमा विशेषज्ञ परामर्श सेवा, उत्पादनमुलक व्यवसाय तथा उद्योग, कृषि तथा खाद्यान्न व्यवसाय, होटल, पर्यटन तथा मनोरञ्जन व्यवसाय, सञ्चार सेवा व्यवसाय, वित्तिय सेवा व्यवसायसहितका शीर्षक समेटिएका छन् । स्वास्थ्य सेवा व्यवसाय, शिक्षा तथा तालिम व्यवसाय, मर्मत तथा सम्भार व्यवसाय, निर्माण व्यवसाय र अन्य सेवा तथा व्यवसाय रहेका छन् ।

सवारी पार्किङ्लाई व्यवस्थित गर्न क्षेत्र र सवारीको प्रकृतिलाई बर्गीकरण गरेर शुल्क तोकिएको छ । यसरी तोकिएका क्षेत्र २ वटा छन् । यस्तै सवारीका प्रकार २ पाङ्गे्र, ४ पाङ्गे्र र ४ पाङ्ग्रेभन्दा ठूला सवारी साधन छन् । यो प्रस्तावमा संशोधन गरेर शुल्क घटाउन संशोधन प्रस्ताव परेको छ ।

सेवा शुल्क दस्तुरमा ८ क्षेत्र छन् । व्यक्तिगत सिफारिस, घरजग्गा सम्बन्धी सिफारिस, व्यवसाय उद्योग तथा संघ संस्था सम्बन्धी शिफारिस, कन्सल्टेन्सीसहित शिक्षा सम्बन्धी शिफारिस रहेका छन् । यस्तै भवन निर्माण नक्सा प्रमाणित सम्बन्धित सिफारिस दस्तुर, हनुमान ढोका दरवार संरक्षण कार्यक्रमअन्तर्गतका शुल्क तथा दस्तुर, फोहोरमैला तथा सरसफाइ व्यवस्थापन सम्बन्धी दस्तुर र अन्य शुल्क तथा दस्तुर समावेश छन् । पटके जरिवानामा अनधिकृत रुपमा पार्किङ् गरिएका सवारी साधनसहित विभिन्न क्रियाकलाप समावेश छन् ।

छुटको व्यवस्था
कोरोनाको प्रभावलाई मध्यनगर गरेर होटल, रिसोर्ट वा चलचित्र घरको नाममा घर जग्गा भएका वा लिजमा लिएकाहरुलाई आ. व. २०७८/०७९ सम्मको कर चुक्ता गरेमा आ. व. २०७९/०८० को करमा ४० प्रतिशत छुट दिइनेछ । आउँदो असोज मसान्तसम्म घरजग्गा करमा १० प्रतिशत छुट दिइनेछ । यो छुट वक्यौतामा नदिइने बताइएको छ ।


क्लिकमान्डु