रेल्वे विधेयक राष्ट्रियसभाबाट पारित



काठमाडौं । राष्ट्रियसभाबाट ‘रेल्वे विधेयक, २०७९’ पारित भएको छ ।

राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले प्रस्तुत गरेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संयुक्त संशोधनकर्ताका तर्फबाट सांसद देवेन्द्र दाहालले रेल्वे सेवालाई प्रभावकारीरूपमा सञ्चालन गर्न छुट्टै मन्त्रालय बनाउनुपर्ने बताए ।

संशोधनकर्ता सांसद डा. विमला राई पौडेलले रेल्वे बोर्डको सञ्चालन समितिमा सार्वजनिक यातायात व्यवस्थापन विषय पढेका, जानेका वा अनुभव लिएका दुई जना स्वतन्त्र विज्ञ राख्नुपर्ने बताइन् ।

सांसद प्रकाश पन्थले रेल्वे बोर्डको स्वायत्ततामाथि सङ्कुचित गर्ने मनशाय राखिएको केही प्रावधान हटाउनुपर्ने बताए । रेल्वे विधेयकमा नौ सांसदबाट प्रस्तावना र १६ दफासँग सम्बन्धित संयुक्त संशोधन प्रस्तावसहित २३ संशोधन प्रस्ताव दर्ता भएका थिए ।

विधेयकको दफावार छलपलका क्रममा सांसदहरूले प्रस्तुत गरेको संशोधन प्रस्तावका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले विधेयकका सम्बन्धमा सांसदहरूले राखेका विषयलाई नियमावलीमार्फत सम्बोधन गरिने बताए । राष्ट्रियसभाको अर्को बैठक यही असार २० गते सोमबार अपराह्न १ बजे बस्नेछ ।


क्लिकमान्डु