पैसा नभएको ६५ लाखको चेक दिने २ जना पक्राउ



काठमाडौं । पैसा नभएको चेक दिएर झुक्याउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका–१ इमाडोल बस्ने महोत्तरी लोहरपटी नगरपालिका–७ घर भएका २८ वर्षीय गौरभ शर्मालाई पक्राउ गरेको छ ।

यस्तै काठमाडौं तारकेश्वर नगरपालिका–१० मनमैजू बस्ने धादिङ नेत्रवती डबजोङ् गाउँपालिका–५ घर भएका ३१ वर्षीय प्रेम बहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको वैशाख ५ गतेको फैसलाले शर्मालाई ११ दिन कैद र ५५ लाख रुपैयाँ जरिवाना तथा वैशाख ४ गतेको फैसलाले गुरुङलाई २ दिन कैद र ९ लाख ९० हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो ।

उनीहरुलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–४ बालुवाटारबाट पक्राउ गरेको जनाएको छ ।

उनीहरुले पर्याप्त मौज्दात रकम नभएको खाताबाट रकम भुक्तान हुने भनी जानी–जानी पीडितलाई झुक्याएर दिएको चेकको रकम भुक्तान हुन नसकेकोमा अदालतले उक्त फैसला गरेको थियो । उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।


क्लिकमान्डु