डिजिटल मुद्राबारे छलफल गर्न गभर्नरसहित बैंकका सीइओहरु पोखरा जाने, मौद्रिक नीतिबारे पनि छलफल गर्ने



काठमाडौं । शुक्रबार र शनिबार दुई दिन पोखरामा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्र बैंकका उच्च तहका अधिकारी र बैंकर्स संघका पदाधिकारीको जमघट हुने भएको छ ।

उक्त जमघटमा बैंकर्स संघको नियमित बैठक हुनुका साथै राष्ट्र बैंकसँगको सहकार्यमा डिजिटल करेन्सीका विषयमा छलफल पनि हुनेछ ।

अहिले नेपाल राष्ट्र बैंक आफ्नै डिजिटल करेन्सी संचालन गर्ने तयारीमा जुटेको छ । त्यसैले पनि यो विषयमा प्राथमिकताका साथ छलफलल हुन लागेको हो ।

‘हामीले शुक्रबार र शनिबार दुई दिनका लागि बैठक बोलाएका छौं’ बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले भने, ‘पोरखामा नियमति बैठक हुनेछ । साथै राष्ट्र बैंकसँगको सहकार्यमा डिजिटल करेन्सीका विषयमा छलफल हुनेछ । साथै वर्तमान समसामयिक विषयमा पनि छलफल हुनेछ ।’

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षक २०७९/८० का लागि मौद्रिक नीति ल्याउन लागेको छ । त्यसका लागि सबै सरोकारवाला पक्षसँग सुझाव लिएको छ । संघले पोखरामा आयोजना गरेको छलफलमा मौद्रिक नीतिका लागि सुझाव पनि दिइने अध्यक्ष उपाध्यायको भनाइ छ । उपाध्यायका अनुसार त्यस अवसरमा अहिले देखिएको तरलता व्यवस्थाका विषयमा पनि छलफल हुनेछ ।

संघले एकाएक पोखरामा बैठक बोलाउँदा सबै अचम्मित बनेका छन् । तर, यो छलफलसहितको भ्रमणलाई आन्तरिक पर्यटक प्रबद्र्धनसँग जोडेर पनि हेरिएको छ ।


क्लिकमान्डु