चपली सवस्टेसनको ट्रान्सफर्मरमा समस्या, बुढानिलकण्ठसहित ७ स्थानमा विद्युत् आपूर्ति बन्द



काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाको चपलीस्थित चपली सवस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आएको छ ।

सवस्टेसनमा रहेका १०/१० एमभीए क्षमताका तीन वटा ट्रान्सफर्मरमध्ये एउटामा बुधबार बिहान ५ बजेदेखि समस्या देखिएको हो ।

ट्रान्सफर्मरमा समस्या आउँदा टोखा, मण्डीखाटार, बाँसबारी, धापासी हाइट, बुढानिलकण्ठ, तारेभीर, झोरलगायतका क्षेत्रमा विद्युत् आपूर्ति बन्द छ ।

उक्त ट्रान्सफर्मरबाट पाँच वटा फिडर निकाली ती क्षेत्रमा विद्युत् आपूर्ति हुँदै आएको थियो । नेपाल विद्युत् प्राधिकरण महाराजगञ्ज वितरण केन्द्र प्रमुख प्रज्वलमान श्रेष्ठले सम्भव भएका स्थानमा अन्य सवस्टेसनबाट वैकल्पिक व्यवस्था गरी विद्युत आपूर्ति गरिएको बताए ।

उनका अनुसार, समस्या देखिएको ट्रान्सफर्मरलाई हटाएर जगेडामा रहेको ट्रान्सफर्मर जडान गर्न लागिएको छ ।

नयाँ ट्रान्सफर्मर जडान जतिसक्दो छिट्टो सम्पन्न गरी विद्युत् आपूर्ति सहज बनाउन गर्न टोली परिचालित भएको श्रेष्ठले बताए ।


क्लिकमान्डु