मन्त्री भएर पनि कमाउनतिर लागिनः पूर्वमन्त्री श्रेष्ठ



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठले मन्त्री भएर कमाउ भन्ने मानसिकता नराखेको बताएका छन् । मन्त्रालयले आयोजना गरेको विदाई कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

नेपाल एकीकृत समाजवादी पार्टीबाट मन्त्री भएका श्रेष्ठले श्रम मन्त्रालय ८ महिना २१ दिन सम्हालेका छन् । यो अवधिमा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारी क्षेत्रमा धेरै सुधार गरेको दाबी गरे । ‘मन्त्रालयले डिजिटल कार्यलाई अगाडि बढाएको छ’ उनले भने, ‘ठगीका कामलाई तीब्र निगरानीमा राखेर अनुगमन गर्दै आएको छ ।’

मन्त्री श्रेष्ठले श्रम स्वीकृतिलाई सहज बनाई अनलाईनबाट लिन सक्ने व्यवस्था गरेको बताए । साथै, मन्त्रालयमा जति दिन बसे पनि सफलतापूर्वक आफूले कार्य निर्वाह गरेको उनको भनाइ छ ।

‘८ महिनाको अवधिमा जुन काम गर्न सकिन्थ्यो, त्यो मैले कुनै काममा कमी राखेको छैन’, उनले भने । उनकाअनुसार मन्त्रालयले अन्य मन्त्रालयको तुलनामा डिजिटलमा फड्को मारेको छ ।
श्रेष्ठले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना झन्झट सहज र सरल तरिकाले सेवा दिने र उनीहरुको गुनासो तत्काल सम्वोधन गर्ने व्यवस्था मिलाइएको बताए ।

यस्तै श्रम स्वीकृति नविकरणलाई सरल बनाइएको जानकारी गराए । सेवाग्राहीका समस्या समाधान गर्न, जानकारी एवं सूचना प्रवाह गर्न हेल्प डेस्क स्थापना गरिएको छ ।

वैदेशिक रोजगार सम्वन्धी समस्या हेर्ने गरी छुट्टै प्रहरी एकाइ गठन गर्ने तयारी गरेको र वैदेशिक रोजगार विभागमा प्रहरी नायव उपरीक्षकको नेतृत्वमा प्रहरी युनिट स्थापना गरिएको उनको भनाइ छ ।


क्लिकमान्डु