हिमालयन हाइड्रोपावरले असार १५ गतेदेखि आइपीओ निष्कासन गर्ने



काठमाडौं । हिमालयन हाइड्रोपावर कम्पनीले असार १५ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १९ करोड ६८ लाख २५ हजार रुपैयाँको १९ लाख ६८ हजार २५० कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमा ९८ हजार ४१३ कित्ता सामुहीक लगानी कोष र ३९ हजार ३६५ कित्ता सेयर कम्पनीका कर्मचारीलाई छुट्याइएको छ ।

बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन् । आइपीओमा असार १९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा असार २९ गतेसम्म आवेदन दिन सकिने छ । आवेदकले न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले आइपीओमा आवेदन दिँदा सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।


क्लिकमान्डु