मिटर ब्याज पीडितको आन्दोलन काठमाडौंमा



काठमाडौं । मिटर ब्याज पैसा लिएर जग्गा कब्जा गरेका साहूप्रति कारबाहीको माग राख्दै नवलपरासीका मिटर ब्याज पीडितले काठमाडौंमा आन्दोलन शुरु गरेका छन् ।

नवलपरासीका जगदीश बानियाँ र सुनिल बानियाँले स्थानीयलाई मिटर ब्याजमा पैसा लिएर २ लाख ऋण दिएबापत १५ लाख रुपैयाँसम्म लिएको भन्दै माईतीघरमा कारबाहीको माग राख्दै आन्दोलन सुरु गरेका हुन् ।

साहू जगदिशका दाजुभाईसँग विदेश जानको लागि डेढ लाख रुपैयाँ ऋण लिएर ६ वर्ष विदेश बसेर कमाएको १२ लाख रुपैयाँ दिँदा समेत अझै ऋण चुक्ता नभएको भन्दै पैसा माग्ने गरेको मिटर ब्याज पीडित राज कुमारले बताए ।

उनले भएको जग्गा जमिनसमेत बेचेर पैसा तिरेको र अब तिर्न नसक्ने अवस्थामा पुगेकाले न्यायको लागि काठमाडौंमा आएको बताए ।

अर्का मिटर व्याज पीडित जयप्रकाश कुर्मीले छोरालाई विदेश पठाउनको लागि पैसा आवश्यक भएकाले सुनिल बानियाँसँग १ लाख रुपौयाँ ऋण लिएको बताए । बानियाँले १ लाख पैसा दिएर २ लाखको तमसुक बनाएको उनले बताए । बानियाँलाई ५ लाख ५ हजार रुपैयाँ दिइसके पनि अहिले ८ लाख माग गरेको गुनासो गरे । जग्गा बचेर भएपनि पैसा दिन दबाब दिएको तर आफूसँग ४ कठ्ठा १५ धुर मात्रै जग्गा रहेको पीडितको गुनासो छ ।

त्यस्तै अर्का पीडित रामसुरत गुप्ताले ऋण लिएको पैसा चुक्ता भयो भनेर तमसुक माग्दासमेत नदिएको बताए । उनले ऋण चुक्ता भएको कागज गरेर पनि आफूहरुको लेखाई नभएको भन्दै बाँकी पैसा माग्ने गरेको समेत बताए ।

आन्दोलनमा आएकाहरुले हजुरबुबाले लिएको ऋण नाती पुस्तासम्म तिर्दा नपुगेर साहुले जग्गा समेत कब्जा गरेर भूमिहिन भएको बताए ।

आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले मिटर ब्याज लिन पाइँदैन,जनता मार्न पाइँदैन, मिटर ब्याज लिनेहरु खबदार,मिटर ब्याज लिनेलाई कारबाही गर्,मिटर ब्याज लिएर जनतालाई सुकुम्वासी र भूमिहिन बनाउन पाइँदैन,लेखेका प्लेकार्ड समेत प्रदर्शन गरेका थिए ।


क्लिकमान्डु