आईएमईले मनायो स्थापनाको १७औँ वार्षिकोत्सव



काठमाडौं । रेमिटेन्स कम्पनी आईएमईले आफ्नो स्थापनाको १७औँ वार्षिकोत्सव “१७औँ वार्षिकोत्सव नयाँ प्रविधिको” भन्ने मूल नाराका साथ विविध कार्यक्रमको आयोजना गर्दै मनाएको छ ।

वार्षिकोत्सवमा कम्पनीको सत्र वर्षे यात्रामा निरन्तर सेवा लिने सेवाग्राहीहरू मध्ये विदेशबाट पैसा पठाउने १७ र नेपालमा प्राप्त गर्ने १७ गरी कूल ३४ जना सेवाग्राहीहरुलाई सिस्टममा आधारित रहेर ‘लक्की ड्र’ मार्फत विजेता घोषणा गरिएको थियो ।

आईएमई लिमिटेडका प्रबन्ध निर्देशक हेमराज ढकालले आगामी दिनमा आइएमई सेवालाई अझै परिष्कृत र प्रविधिमैत्री बनाउदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले सेवाग्राहीहरुको निरन्तर विश्वासले आफु लगायत आफ्नो टीमलाई काम गर्ने थप उर्जा मिलेको बताए ।

१७औँ वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न प्रतियोगितात्मक खेलकुदका विजेता तथा उपबिजेताहरुलाई प्रबन्ध निर्देशक हेमराज ढकालले पदक, ट्रफी एवम् शिल्ड प्रदान गरेका थिए । कम्पनीमा कार्यरत उत्कृष्ट कर्मचारीहरुलाई सो अवसरमा सम्मान गरिएको थियो ।

कम्पनीले सेवा शुभारम्भको १७ औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १५५ आईएमई सेन्टरसहित ७५ जिल्लाका ६,१०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् रेमिट्यान्स वितरण गर्दै आईरहेको जनाएको छ ।


क्लिकमान्डु