कर्मचारीलाई सञ्चयकोषको व्यवस्था गर्न,सेवा सुविधा बढाउन एशोसिएसनको माग



काठमाडौं । नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसनले कर्मचारीहरुको सेवा-सुविधा बढाउन माग गरेको छ ।

रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा एशोसिएसनले अतिरिक्त हुलाकका कर्मचारीले अन्य राष्ट्रसेवक कर्मचारीको जत्तिकै सेवा सुविधा पाउनु पर्ने भन्दै तलब वृद्धि गर्न माग गरेको छ ।

उनीहरुले अवकासपछि रित्तो हात फर्कनुपर्ने अवस्थाको अन्त्य गर्दै सुविधासहित कर्मचारीहरुलाई बिदाई गर्नुपर्ने माग गरेका छन् ।

एशोसिएनसनले तलब स्केल अत्यन्त अन्यायपूर्ण भएको भन्दै पुरा कामसहित तलब स्केल वैज्ञानिक र व्यवहारिक बनाइनुपर्ने समेत प्रस्ताव ल्याएइएको छ ।

त्यस्तै, संचित बिरामी बिदाको रकम एक मुस्ट दिने व्यवस्था गर्न, सिमित बिदावापत जिल्ला तथा ईलाका हुलाकका कर्मचारीले पाएसरह थप एक महिनाको पारिश्रमिक पाउनुपर्ने, पोशाकसहितका अन्य सुविधाहरु उपलब्ध गराइनुपर्ने पनि सरकारसँग एशोसिएसनको माग छ ।

मूल्य बृद्धिको अनुपातमा राष्ट्रसेवक कर्मचारीको तलव बृद्धि हुँदा हुलाकका कर्मचारीको पनि एकै साथ बृद्धि गरिनुपर्ने, अतिरिक्त हुलाक नियमावली २०३४ तत्काल परिमार्जन गरिनु पर्ने र संचयकोषको व्यवस्था गर्न समेत सरकारसँग आग्रह गरेको छ ।

पत्रकार सम्मेलनमा एशोसियसनका अध्यक्ष टंकप्रसाद हुमागाँईलेसरकारले ११ हजार कर्मचारीहरुको सेवा सुविधा नबढाएको जिकिर गरे । तलब स्केल अत्यन्त अन्यायपूर्ण रहेको सन्दर्भमा पुरा कामसहित तलब स्केल वैज्ञानिक र व्यहवारिक बनाइनु पर्नेमा जोड दिए ।

साढे ९ हजार निजामती कर्मचारी भएकोमा कटौती गरेर सरकारले करिब ७ हजार निजामती कर्मचारीमात्र राखेको भन्दै उनले तीन हजार जना करारका कर्मचारी रहेको उल्लेख गरे ।

‘गाउँ–गाउँ र बस्तीसम्म दिनको २ सय रुपैयाँ लिएर चिठ्ठी बाँड्न गइरहेको छौं’ उनले भने, ‘सरकारले हाम्रो श्रम शोषण गरिरहेको छ ।’ हुलाकमा दरबन्दी खाली भएपनि अतिरिक्त कर्मचारीलाई स्थान नदिएकोमा उनले दुःखेसो पोखे । सम्पुर्ण राष्ट्रसेवकको तलव बृद्धि भएपनि अतिरिक्त हुलाक कर्मचारीको हुन नसकेको उनले बताए ।

‘०७७÷७८ को बजेटले हाम्रो तलव वृद्धि नगरेको भन्दै तलव वृद्धिको लागि पुरै १ वर्ष सम्बन्धित निकायमा पुगियो’ उनले भने, ‘कतै केही चलेन । अर्थमन्त्रलयमा पुगेको फाइल कतै चल्न सकेन ।’

त्यसैगरी आव २०७९-८० को बजेटमा पनि सम्पुर्ण राष्ट्र सेवकको तलव बृद्धि भएपनि आफुहरुको नभएकोमा दुःख व्यक्त गरे । सरकारको काम गरेको भन्दै उनले निजामती कर्मचारीले जत्ति नै दण्ड र जरिवाना लाग्ने तर सुविधा नपाएको भन्दै आपक्ति जनाए ।

उनले हुलाक सेवा विभाग, जिल्ला हुलाक, इलाका हुलाकलाई सरकारको हुलाक भन्ने गरिने तर अतिरिक्त हुलाकलाई सौतेनी हुलाकको रुपमा लिएको भन्दै आक्रोस पोखे ।


क्लिकमान्डु