कोपोमिसमा विवरण नभरेका सहकारीले कर चुक्ता प्रमाणपत्र नपाउने



काठमाडौं । सहकारी विभागले कोपोमिसमा विवरण भरेपछि मात्रै सहकारी संस्थाहरुलाई कर चुक्ता प्रमाणपत्र दिन आन्तरिक राजस्व विभागलाई अनुरोध गरेको छ ।

सहकारी विभागले आन्तरिक राजस्व विभागलाई पत्र लेख्दै कोपोमिसमा सबै सहकारी संघ संस्थाले आफ्नो सहकारीको समष्टिगत विवरण अनिवार्य इन्ट्रि गरिसकेपछि सोही प्रणालिमा स्वतः सिर्जना हुने दाखिला नम्बर सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा पेश भईसकेपछि मात्र करचुक्ता प्रमाण पत्र दिन भनेको छ ।

सहकारी विभावले राजस्व विभागलाई सहकारी संघ संस्थाको तथ्याङ्क प्राप्तिमा आवश्यक सहयोग, समन्वय र सहजिकरण गरिदिन समेत अनुरोध गरेको छ ।

हाल नेपालमा करिव ३० हजारको संख्यामा रहेका विभिन्न प्रकृतिका सहकारीको यथार्थ तथ्याङ्कको अभावमा
प्रभावकारी नीति, योजना, कार्यक्रम निर्माण गर्न समस्या परेको विभागले जनाएको छ । सहकारी क्षेत्रको तथ्याङ्क प्राप्तिको लागि सहकारी संघ÷संस्थाहरुले भर्नुपर्ने समष्टिगत विवरण लगायतका अन्य नियमित रुपमा प्रविष्टि गर्नुपर्ने विवरणहरु प्रविष्टिका लागि कोपोमिस सिस्टम तयार गरिएको जनाएको छ ।

विभागले सहकारी संघ संस्थाहरुले उल्लेखित विवरण अविलम्व इन्ट्रि गर्न गराउनको लागि प्रदेश सहकारी रजिष्ट्रार, सबै स्थानीय तह, राष्ट्रिय सहकारी महासंघ, विषयगत केन्द्रिय संघ, प्रदेश सहकारी संघ, विशिष्टिकृत संघ, जिल्ला सहकारी संघहरुलाई जेठ ९ गते परिपत्र मार्फत अनुरोध गरिएको जनाएको छ ।


क्लिकमान्डु