गुल्मीको मुसिकोट नगरपालिकाको १४६ रोपनी जग्गामा कफी खेती गरिने



काठमाडौं । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको वडा नम्बर ५ मा १४६.६३८ रोपनी (७.४६ हेक्टर) क्षेत्रफलमा कफी हुने भएको छ ।

कफी विकास केन्द्र आँपचौरले गुल्मीमा उक्त क्षेत्रफलमा कफी खेती गर्ने भएको हो ।

कफी विकास केन्द्रले ७.४६ हेक्टर क्षेत्रफलमा टिनीमिनी सामुदायिक वनको जमिनमा क्षेत्र विस्तार गर्ने र त्यस पश्चातको आयोजना कार्यान्वयनले वातारणमा पार्ने सकारात्मक र नकारात्मक प्रभावबारे कृषि तथा पशुपन्छी मन्त्रालयममा प्रतिवेदन पेश गरेको छ ।

केन्द्रले प्रस्तावित टिनीमिनी सामुदायिक वनको १४६.६४ रोपनी क्षेत्रफल जग्गामा प्रति दुई रोपनीको हिसाबले ५१ वटा ब्लकहरू निर्माण गर्ने प्रस्ताव पेश गरेको छ ।

प्रतिवेदनअनुसार प्रत्येक २ रोपनीको ब्लकमा २ सय वटा कफीको बिरुवा रोपिने जनाएको छ ।

आयोजना क्षेत्रको करिब ७० प्रतिशत जग्गा कफी उत्पादनका लागि प्रयोग गरिनेछ भने बाँकी जग्गा बाटो निर्माण, भौतिक संरचना जस्तै सुरक्षाका दृष्टिले चौकीदार रहने आवासको निर्माण गरिनेछ ।

त्यसैगरी, सो क्षेत्रमा कृषक अवलोकन भ्रमण आउँदाका लागि पार्किङ तथा शौचालय आदि संरचनाहरू पनि निर्माण हुने प्रतिवेदनमा उल्लेख छ ।

कफी विकास केन्द्रको क्षेत्र विस्तार भएपश्चात आवश्यक रहेको भवनहरू जस्तै प्रशासनिक भवन प्रशोधन भवन, प्रयोगशाला मुसिकोट नगरपालिकाकै वडा नम्बर ५ मा टिनीमिनी सामुदायिक वनबाट करिब २ किलोमिटरको दुरीमा निर्माण गरिनेछ ।

केन्द्रले प्रस्ताव गरेको आयोजना कार्यान्वयन पछि कफी उत्पादन, अनुसन्धान र प्रवर्धनमा उल्लेखनीय योगदान दिने अपेक्षा गरेको छ ।
अहिले नेपालमा उत्पादन भइरहेको कफीको उत्पादकत्व करिब २ सय केजी प्रति हेक्टर ग्रीन बिनलाई कम्तिमा ५ सय केजी प्रति हेक्टर पु¥याउने खालका प्रविधिहरुको अनुसन्धान ब्लक बनाउने योजना रहेको छ ।

प्रस्तावित आयोजना क्षेत्रमा करिब ३ हजार केजी ग्रीन बिन उत्पादन गर्न सकिन्छ र.यसको बजार गुल्मी जिल्लामा रहेको जिल्ला कफी सहकारी संघमार्फत् वा अन्य कफी व्यापारीमार्फत् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण गर्न सकिने केन्द्रको भनाइ छ ।


क्लिकमान्डु