मौद्रिक नीतिले तरलताको समस्या सम्बोधन गर्छः अर्थमन्त्री



काठमाडौं । तरलताको समस्यालाई आगामी मौद्रिक नीतिले सम्बोधन गर्ने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।

आइतबार आइएमई लिमिटेडको २२ औँ वार्षिकोत्सबको अवसरमा मन्त्री शर्माले मौद्रिक नीतिले अहिलेको समस्यालाई सम्बोधन गर्नु पर्ने बताए ।

उनले यो बजेटले बिदेशी मुद्रा आर्जन गर्ने लक्ष्य राखेको जानकारी गराए । मन्त्री शर्माले औद्योगिक, कृषि र पर्यटनमात्र नभएर सेवा क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्ने लक्ष्य लिएको बताए ।

उनले यो बजेट अस्थिरताबाट स्थिरतातर्फ लाने खालको भएको बताए । मन्त्री शर्माले बजेट कार्यान्वयनमा प्रश्न उठेको भन्दै हरेकले आ-आफ्नो ठाउँबाट बजेट कर्यान्वयन गर्नु पर्ने बताए ।

कार्यक्रममा मन्त्री शर्माले अहिलेसम्म आइएमईले विप्रेषणका रुपमा २० खर्ब रुपैयाँ भित्र्याएको बताए । आइएमई समुहले एउटा सामान्य सोचलाई उद्योगमा परिणत गर्न सफल भएको उल्लेख गरे । यसले रास्ट्रको अर्थतन्त्रमा ठूलो योगदान गरेको मन्त्री शर्माको दाबी छ ।

अहिले पनि जारी गरेको हुण्डीलाई कम गर्न आइएमई जस्ता संस्थाले काम गर्नु पर्ने मन्त्री शर्माको तर्क छ । कार्यक्रममा मन्त्री शर्माले विदेशमा रहेका नेपालीलाई आइएमईमा सहभागी गराउने ब्यवस्था बजेटले गरेको स्मरण गराए ।


क्लिकमान्डु