निक्षेपको ब्याजदर असारमा नबढाउने बैंकर्स संघको सहमति



काठमाडौं । निक्षेपको ब्याजदर असार महिनामा नबढाउने सहमति बैंकर्स संघले गरेका छन् ।

बैंकर्स संघको सहमति अनुसार वाणिज्य बैंकले एकवर्षको मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ११.०३ प्रतिशत ब्याजदर दिनेछन् । संस्थागत तर्फ १०.०३ प्रतिशत ब्याजदर बैंकहरुले दिनेछन् ।

विदेशबाट रेमिट्यान्स पठाउनेले भने १२.०३ प्रतिशत ब्याजदर पाउनेछन् ।

‘असारमा निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय भएको छ,असार महिनामा सरकारको खर्च बढ्ने हुँदा निक्षेप बढ्ने अनुमान छ,’एक बैंकका सीइओले भने ।

वाणिज्य बैंकले ब्याजदर नबढाउने भएपछि विकास बैंक र फाइनान्स कम्पनीको समेत ब्याजदर यथावत रहने भएको छ ।

बैंकहरुले माघदेखि निक्षेपमा ब्याजदर बढाएका छैनन् ।

माघदेखि रिन्यु गर्दा तथा नयाँ निक्षेपको ब्याजदर बढेको हुँदा बैंकहरुको बेसरेट भने असारमा बढेर आउने छ । जसले गर्दा कर्जाको ब्याजदर बढ्ने छ ।

वाणिज्य बैंकहरुको औसत आधार दर २०७८ वैशाखमा ६.८३ प्रतिशत रहेकोमा २०७९ वैशाखमा ९.३० प्रतिशत कायम भएको छ । २०७९ वैशाखमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.२५ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ११.४२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्ता दरहरु क्रमशः ४.८१ प्रतिशत र ८.५३ प्रतिशत रहेका थिए ।


क्लिकमान्डु