नेपालबाट बेलायत नर्स लैजाने सम्बन्धी मस्यौदा तयार, आगामी साता हस्ताक्षर हुने



काठमाडौं । बेलायत सरकारले वैदेशिक रोजगारीमा नेपालबाट नर्स लैजाने विषयमा आगामी साता हस्ताक्षर हुने भएको छ । सोसम्बन्धी समझदारी पत्रको मस्यौदा तयार भइसकेको र आगामी साता हस्ताक्षर हुने भएको हो ।

श्रम समझदारीको मस्यौदा बनाउन गठित दुबै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार पारिसकेको छ ।

शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले भेट गरी श्रम समझदारीको तयारीबारे छलफल गरेका थिए ।

मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र बेलायतबीच सन् १८१६ मा कुटनीतिक सम्बन्ध स्थापित भएदेखि रहिआएको सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको थियो ।

श्रम आप्रवासनको क्षेत्रमा बेलायतसँगको सम्बन्ध गौरवपूर्ण रहेको चर्चा गर्दै मन्त्री श्रेष्ठले नेपालबाट तेस्रो मुलुकमा रोजगारीका लागि जाने प्रचलन बेलायती सेनामा भर्ना प्रकृयाबाटै शुरु भएको बताए ।

बेलायतमा रोजगारीका लागि शुरुमा २ हजार नर्स पठाउन तयार रहेको बताउँदै मन्त्री श्रेष्ठले त्यसका लागि वैदेशिक रोजगार विभागको क्षमता अभिवृद्धि, छात्रवृत्तिको अवसरका साथै नर्सिङ कलेजहरुको क्षमता अभिवृद्धिमा बेलायत सरकारबाट सहयोगको अपेक्षा गरिएको बताए।

मन्त्री श्रेष्ठले गण्डकी प्रदेशको तनहुँ जिल्लामा कम्तीमा १ सय बेडको नर्सिङ कलेजसहितको अस्पताल निर्माण गर्ने आफ्नो योजना रहेको बताउँदै बेलायत सरकारबाट सहयोगको अपेक्षा गरे ।

नेपालको स्वास्थ्य शिक्षाको गुणस्तर विश्वस्तरको रहेको चर्चा गर्दै नर्सबाहेक डाक्टर, फार्मेसिष्ट, ल्याव टेक्निसियनहरुलाई पनि बेलायतमा रोजगारी प्राप्त हुने विश्वास व्यक्त गरे ।

भेटमा नेपाली श्रमिकहरुलाई बेलायतमा रोजगारीका लागि निर्माण, ड्राइभिङ, कृषि, होटल व्यवसाय जस्ता अन्य क्षेत्रहरुमा हुने सम्भावनाबारे पनि छलफल भएको थियो ।

यसअघि नयाँ रोजगार गन्तव्यको खोजीको क्रममा मन्त्री श्रेष्ठले बेलायतसँग श्रम सम्बन्ध स्थापनाका लागि पहल गरेका थिए ।

बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेसनल हेल्थ सर्भिस’का प्रतिनिधिका साथै काठमाडौंस्थित बेलायती दूतावासका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच विभिन्न चरणमा छलफल भई श्रम समझदारीपत्रको मस्यौदा तयार भएको हो । रो

रोजगारीका लागि बेलायत जाने नर्सले कुनै पनि शुल्क बुझाउनु पर्ने छैन ।


क्लिकमान्डु