सत्ताको दुरुपयोग गरेर दक्षिण अफ्रिकाको स्रोत र साधन कब्जा गर्ने गुप्ता दाजुभाइ यूएईमा पक्राउ



एजेन्सी । साधन, सत्ता, शक्ति र पहुँचको दुरुपयोग गरेर दक्षिण अफ्रिकामा एकछत्र राज्य चलाइरहेका दक्षिण अफ्रिकाका भारतीय व्यापारी गुप्ता दाजुभाइ युएईमा पक्राउ परेका छन् ।

दक्षिण अफ्रिकी सरकारले देशको प्रसिद्ध कुलिन गुप्ता परिवारका दुई दाजुभाइ संयुक्त अरब इमिरेट्समा पक्राउ परेका हुन् ।

अतुल र राजेश गुप्तामाथि दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकब जुमाको नजिक रहेर अवैध प्रभावको फाइदा उठाएर व्यापारमा ठूलो नाफा कमाएको र देशको सबैभन्दा ठूलो घोटाला गरेको आरोप छ ।

दुई दाजुभाइको सुपुर्दगीका लागि युएईसँग वार्ता भइरहेको दक्षिण अफ्रिकाका अधिकारीले बताएका छन् ।

सन् २०१८ मा न्यायिक आयोगले अनेकन घोटालामा दुई दाजुभाइको भूमिकाबारे अनुसन्धान थालेपछि उनीहरू देश छाडेर भागेका थिए ।

गुप्ता परिवार सन् १९९३ मा भारतबाट दक्षिण अफ्रिका पुगेका थिए । उनीहरुमाथि भारतमा सम्पत्ति शुद्धीकरणको आरोप पनि लागेको छ । भारतीय कर अधिकारीहरूले २०१८ मा दिल्लीमा उनको कम्पनीको कार्यालयसहित धेरै सहरहरूमा एकैपटक छापा मारेका थिए ।

भारतीय मूलका गुप्ता दाजुभाइहरू विरुद्ध भ्रष्टाचारका गम्भीर आरोपहरू लागेको छ । त्यसमध्ये, सबैभन्दा गम्भीर आरोप तिनीहरूको ज्याकब जुमासँगको सम्बन्धलाई पनि लिइएको छ ।

सन् २००९ देखि दक्षिण अफ्रिकाको राष्ट्रपति रहेका जुमाले भ्रष्टाचारको आरोपका कारण सन् २०१८ मा आफ्नो सत्ता गुमाउनु परेको थियो ।

गुप्ता दाजुभाइहरूमाथि राष्ट्रपति जुमासँगको घनिष्ठ सम्बन्धलाई दक्षिण अफ्रिकी राजनीतिको हरेक तहमा हस्तक्षेप गरेको आरोप लागेको छ । चाहे त्यो ठूला व्यापारिक ठेक्का पाउनु होस् वा उच्च पदस्थ सरकारी अधिकारीको नियुक्तिलाई प्रभाव पार्न समेत उनीहरु परिचालित भएको बताइन्छ । तर, पूर्वराष्ट्रपति र गुप्ता भाइले यी आरोपको खण्डन गरेका छन् ।

दुबै दाजुभाइ देश छोडेपछि दक्षिण अफ्रिकाले २०२१ मा युएईसँग सुपुर्दगी सन्धी गरेको थियो ।

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाको सरकारले यो सम्झौताले गुप्ताहरूलाई स्वदेश फिर्ता ल्याउने र उनीहरूमाथि लगाइएको आरोपको सुनुवाइ शुरु हुने आशा व्यक्त गरेको बीबीसीले जनाएको छ ।

गुप्ता परिवारसँग जुमाको सम्बन्ध यति नजिक थियो कि उनीहरूका लागि संयुक्त शब्द समेत बनाइएको थियो- जुप्टास ।

जुमाका धेरै पत्नीमध्ये एक र उनका छोराछोरी गुप्ता भाइहरूको स्वामित्वमा रहेका कम्पनीहरूमा उच्च पदमा थिए ।

गुप्ता दाजुभाइका कैयौं कम्पनीले सरकारी विभागबाट लोभलाग्दो ठेक्का पाए । सरकारी अधिकारीहरूले गुप्ता दाजुभाइको पक्षमा निर्णय हुनुपर्छ भनेर उनीहरूलाई प्रत्यक्ष रूपमा भनिएको बताउँछन् । यस्तो आदेश मान्नेलाई पैसा र पदोन्नति दिइयो भने नमान्नेलाई सजाय दिइयो ।

धेरै सार्वजनिक संस्थानहरू यस परिवारले पूर्णरूपमा कब्जा गरेको आरोप छ ।

यसमा त्यहाँको वित्त मन्त्रालय, प्राकृतिक स्रोत र सार्वजनिक उद्यम मन्त्रालय, कर संकलन र सञ्चारका लागि जिम्मेवार एजेन्सीहरू, राज्य प्रसारक, राष्ट्रिय एयरलाइन दक्षिण अफ्रिकी एयरवेज, देशको स्वामित्वमा रहेको रेल–भाड़ा सञ्चालक र ऊर्जाका विषय समेत समावेश छन् ।

देशका सर्वोच्च न्यायाधीशद्वारा प्रकाशित चार वर्षको न्यायिक छानबिन प्रतिवेदनले दक्षिण अफ्रिकी सरकारका निर्णयहरूमा अमिर मानिएका गुप्ता भाइहरू र जुमाको सत्तारुढ दल अफ्रिकन नेसनल कांग्रेस (एएनसी) पार्टीका निर्णयहरूमा गहिरो संलग्नता रहेको निष्कर्ष निकालेको छ ।

छानबिन प्रतिवेदनमा उनीहरुमाथि रेल, बन्दरगाह र पाइपलाइनजस्ता पूर्वाधारको कारोबारमा अनियमिततामा संलग्न रहेको आरोप लगाइएको छ ।

गत वर्ष, पूर्वराष्ट्रपति जुमाले अनुसन्धानकर्ताहरूसामू बयान दिन अस्वीकार गरेको कारण १५ महिनाको जेल सजाय सुनाइएको थियो । तर, दुई महिनाको जेल सजायपछि जुमा बाहिर आएका थिए ।

अजय, अतुल र राजेश गुप्ता सन् १९९३ मा दक्षिण अफ्रिका पुगेका थिए । उही समयमा, दक्षिण अफ्रिकामा राजनीतिक रंगभेद समाप्त भयो ।

गुप्ता दाजुभाइहरू उत्तर प्रदेशको सहारनपुर सहरका हुन् । जहाँ तिनीहरूका बुबा शिवकुमार गुप्ता मसला व्यापारी थिए । उनले छोराहरूलाई व्यवसायका लागि विदेश जान प्रोत्साहन गरे ।

जेठो छोरा अजय रुस गए, अतुललाई दक्षिण अफ्रिका र कान्छो छोरा राजेश (टोनी भनेर चिनिने)ले चीनमा व्यापार गरे । पछि परिवारले दक्षिण अफ्रिकामा पाइला टेकेर सहारा कम्प्यूटरको नामबाट व्यापारलाई अगाडि बढाएको थियो ।

उनको कम्पनी बढ्यो र कर्मचारी संख्या १० हजार नाघ्यो । खानी, हवाई यात्रा, ऊर्जा, प्रविधि र सञ्चारमाध्यममा पनि उनले हात हाल्न थाले ।

सहाराको वार्षिक कार्यक्रममा अतिथिका रूपमा आएका बेला राष्ट्रपति हुनुअघि ज्याकोव जुमालाई भेटेको अतुल गुप्ता बताउँछन् ।

दक्षिण अफ्रिकी इतिहासको सबैभन्दा ठूलो घोटालामा गुप्ता भाइहरूको व्यापार साम्राज्य ध्वस्त भएको बताइन्छ ।

यस सनसनीपूर्ण काण्डले पनि फेब्रुअरी २०१८ मा गुप्ता परिवारका शक्तिशाली मित्र राष्ट्रपति ज्याकोव जुमालाई अपमानजनक पदच्युत गरिदियो ।

यसैबीच, दक्षिण अफ्रिकामा ठूलो संख्यामा भारतीय कम्पनीहरूले लगानी गरेका छन् । तर गुप्ता दाजुभाइको घोटालाले भारतीय व्यापारीहरूको प्रतिष्ठामा चोट पुर्याएको बताइन्छ ।


क्लिकमान्डु