भारतीय व्यापारीको संगतले दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपतिलाई जेल पुर्यायो



एजेन्सी । तीन भारतीय व्यापारीको चंगुलमा नराम्ररी फसेका दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोव जुमा अन्ततः जेल गएका छन् ।

दुई दशक पहिलेसम्म भारतको उत्तर प्रदेशको एक सानो जिल्लाको सानो परिवारमा सीमित केही मानिसहरु अहिले दक्षिण अफ्रिकामा मजबूतमात्रै नभई सबैभन्दा शक्तिशाली परिवार बनेको छ । सोही परिवारका कारण दक्षिण अफ्रिकाको शक्तिशाली नेशनल काँग्रेसका शक्तिशाली नेता जुमालाई समेत जेल पठाइदिएको छ ।

गुप्ता परिवारका अजय, अतुल र राजेश गुप्ताका कारण दक्षिण अफ्रिकाको सत्ता र शक्ति समेत धरमराएको छ । उनीहरुले दक्षिण अफ्रिका पुगेर एक साम्राज्य खडा गरेका छन् ।

दक्षिण अफ्रिकाका राष्ट्रपति थिए ज्याकोव जुमालाई उनीहरुले प्रभावमा पारे । तर, कानूनको नजरमा ज्याकोव दोषी भए, उनीहरु निर्दोष जस्ता देखिएका छन् ।

भारतको उत्तर प्रदेशको सहारनपुर जिल्लाका गुप्ता दाजु भाइले शक्ति र सत्तालाई तहसनहस बनाइदिएका छन् । शिवकुमार गुप्ताका तीन छोराका कारण सत्ता धरमराएको हो ।

सत्ताको दुरुपयोग गरेर ३ भारतीय व्यापारीले यसरी कब्जा गरे दक्षिण अफ्रिकाको स्रोत, साधन

लामो संघर्षपछि देशमा रंगभेदी आन्दोलनबाट अश्वेतले उनीहरुको अधिकार पाएका थिए । खासमा उनीहरु समान भएका थिए । अर्थात् गुप्ता परिवार त्यहाँ जानु र दक्षिण अफ्रिाका परिवर्तन आउनुको उमेर करिब करिब बराबर नै थियो । सन् १९९४ मा दक्षिण अफ्रिकामा पहिलो लोकतान्त्रिक निर्वाचन भयो । ज्याकोव जुमाले आफना छोरामार्फत् राज्यकोष दुरुपयोग गरेका थिए ।

गुप्ता परिवारले मन्त्रिपरिषद्का नियुक्तिहरूमा प्रभाव पारेको र भ्रष्टाचारका माध्यमबाट धेरै नाफा हुने खालका सरकारी ठेक्काहरू हात पारेको आरोप लागेको छ। जुमामाथि वाट्सन परिवारले सञ्चालन गर्ने बोसासा नामक एउटा लजिस्टिक कम्पनीबाट घुस लिएको पनि आरोप लागेको छ ।

तर, ती सबै कम्पनीहरूले अनुचित कार्य गरेको भन्ने आरोपहरूलाई अस्वीकार गर्दै आएको भएपनि जुमा १५ महिनाका लागि अब जेल बस्नुपर्ने नै भएको छ ।

जुमाले विवादास्पद गुप्ता परिवारलाई राज्य कब्जा गर्न दिइएको र उनीहरूका निम्ति देशको लिलामी गरेको भन्ने आरोपप्रति आपत्ति जनाउँदै आएको भएपनि उन्मुक्ति पाउन सकेनन् ।

ज्याकोबले छानबिन टोलीसमक्ष भनेका थिए ‘के मैले टेबल माउन्टेन भनिने त्यहाँको पहाडी श्रृङ्खलाको बोलकबोल गरेँ वा मैले जोहानेसबर्गको बोलकबोल गरेँ ?’

जुमाले आफूमाथि लागेको भ्रष्टाचारको आरोपलाई, उनकै शब्दमा, राजनीतिक वृत्तबाट उनलाई हटाउने उद्देश्यले गरिएको षड्यन्त्र भएको बताएका थिए ।

उनको कार्यकालमा भ्रष्टाचारको जालो फैलाइएको भन्ने आरोपहरूमाथि अनुसन्धान गरिरहेको न्यायाधीश नेतृत्वको एउटा छानबिन समितिमा उपस्थित भएर आफनो बचाउसमेत गरेका थिए ।

उनलाई सन् २०१८ को फेब्रुअरीमा राजीनामा गर्न बाध्य बनाइएको थियो । जुमाको स्थानमा त्यसबेलाका उपराष्ट्रपति सिरिल रामापोसा राष्ट्रपति नियुक्त भए र उनले दक्षिण अफ्रिकाको भ्रष्टाचारलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए । रामापोसाले जुमाको नौ वर्षे कार्यकाललाई ‘व्यर्थको समय’का रूपमा अथ्र्याएका थिए ।

जुमाले अदालतको मानहानिका लागि जेल सजाय भोग्न प्रहरीसमक्ष आत्मसमर्पण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय समय अनुसार बुधवार अबेर उनी आफ्नो निवास नजिकै रहेको जेल पुगेको उनको फाउन्डेसनले जनाएको छ । दिनको अन्त्यसम्ममा आत्मसमर्पण नगरे ७९ वर्षका पूर्व राष्ट्रपतिलाई पक्राउ गर्न आफूहरू तयारी अवस्थामा रहेको प्रहरीले चेतावनी दिएको बीबीसीले जनाएको छ ।

अदालती सुनुवाइमा उपस्थित हुन नसकेका कारण जुमालाई गत हप्ता १५ महिना लामो जेल सजाय सुनाइएको थियो । आइतवार आत्मसमर्पण गर्न अस्वीकार गरेपछि जुमालाई निश्चित समय उपलब्ध गराइएको थियो ।

उनकी छोरीले त्यसको केही समयपछि सामाजिक सञ्जाल ट्विटरमा आफ्ना पिता जेल जानका लागि बाटोमा रहेको र उनमा अझै पनि उच्च आत्मबल रहेको बताएकी थिइन् ।

दक्षिण अफ्रिकामा पूर्व राष्ट्रपतिलाई जेलसजाय सुनाइएको यो नै पहिलो पटक भएको विवरण प्राप्त भएको छ । जुमालाई जुन २९ तारिखमा आफ्नो नौ वर्षे कार्यकालका बेला भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो ।


पुष्प दुलाल