काठमाडौंको फोहोर उठ्ने, जनप्रतिनिधिसँग भयो यस्तो सहमति



काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर भोलिदेखि उठ्ने भएको छ ।

सहरी विकास मन्त्री रामकुमारी झांक्रीको रोहबरमा काठमाडौं महानगरका मेयर बालेन साह र उपमेयर सुनिता डंगोलसँग ककनी गाउँपालिका, धुनिवेशी नगरपालिकाका जनप्रतिनिधिसँग सहमति भएको हो ।

सहमति अनुसार फोहोर बिसर्जन गरिने बञ्चरे डाँडा ल्याण्डफिट साइटका लागि सहरी विकास मन्त्रालयले आगामी आवका लागि विभिन्न ५ वटा सडक निर्माणका लाग ४२ करोड ५० लाख रुपैयाँ बजेट, नदी नियन्त्रण, सामूदायिक भवन निर्माण, मन्दिर निर्माण र वृक्षारोपणका लागि १ करोड ७० लाख रुपैयाँ बिनियोजन गरिनेछ ।

साथै आगामी साउन १ गतेदेखि काठमाडौंमा उत्पन्न हुने फोहोरको स्रोतमै वर्गीकरण गरेर लैजाने सहमति भएको छ ।

साथै ल्याण्डफिट साइटका लागि आवश्यक जग्गा अधिग्रहणका सम्बन्धमा वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन प्राप्त भएपछि सोही अनुसार काम अघि बढाउने सहमति भएको छ ।

त्यसैगरी, प्रतिवेदनका आधारमा स्थानीयका लागि १० बेडको अस्पताल सञ्चालन गर्न सरकार र स्वास्थ्यमन्त्रालयलाई अनुरोध गर्ने समेत सहमति
भएको छ ।

साथै, काठमाडौं महानगरका तर्फबाट धुनिवेसी नगरपालिकाका वडा नम्बरहरु १, ३, ४ र ककनीको वडा नम्बर १, २, ३ का स्थानीय बासीहरुको स्वास्थ्यबीमाको काम एक साताभित्र शुरु गर्ने समेत सहमति भएको छ । साथै विगतमा उपलब्ध गराउने आएको अनुदान समेत निरन्तर दिने समेत सहमति भएको छ ।

त्यसैगरी नास्टको प्रतिवेदनका आधारमा १० दिनभित्र रासायनिक र जैविक उपचार गरी दुर्गन्ध हटाउने विषयमा समेत सहमति भएको छ ।


क्लिकमान्डु