स्वास्थ्य बीमा कम्पनीमार्फत् गर्ने निर्णय गलत छ, अर्थमन्त्रीले बुझेनन्ः गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वास्थ्य बीमा सम्बन्धी सरकारको धारणा गलत भएको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथि बोल्दै कम्पनीमार्फत् स्वास्थ्य बीमा सञ्चालन गर्ने धारणा उचित नभएको बताए ।

‘स्वास्थ्य बीमा सामाजिक सुरक्षाको कार्यक्रम हो । हामीहरुले वर्षौ लगाएर यो कार्यक्रम ल्याएका थियौं । तर बजेटमार्फत् यो कार्यक्रम कम्पनीमार्फत् चलाउने भनिएको छ । जुन सामाजिक सुरक्षाको दृष्टिकोणले उचित होइन । सामाजिक सुरक्षाको दृष्टिबाट तपाईंहरुले बुझ्नु भएन भन्ने हो,’ उनले भने ।

उनले काठमाडौं–चितवनको द्रुतमार्गका विषयमा भौतिक मन्त्रालयलाई जानकारी नै नभएको, सडक विभागलाई पनि कुनै जानकारी नभएको बताए ।

‘मैले केही साथीहरुसँग जानकारी लिएँ, तर उहाँहरुलाई यसबारेमा केही पनि जानकारी छैन,’ उनले भने ।

उनले विद्युतीय सवारी साधनमा कर बढाउनु गलत भएको बताए । पेट्रोलियम पदार्थको विकल्पमा विद्युतीय सवारी साधन भए पनि कर थोपर्नु गलत भएको बताए ।

उनले बजेटको आकार ठूलो बनाएको तर त्यसको स्रोत व्यवस्थापन कसरी गर्ने हो भन्दै अर्थमन्त्रीलाई प्रश्न समेत गरे । चालु आवमा क्षमता अभाव भएको भन्दै बजेटको आकार घटाउने तर अहिले के आधारमा बढाइयोको भन्दै प्रश्न गरे ।

‘स्रोत व्यवस्थापनमा के नयाँ काम गर्दैछौं ? क्षमता अभिवृद्धिका लागि के गर्दैर्छौ ? जसका कारणले बजेटको आकार बढाइएको छ,’ उनले भने । उनले विगतमा वर्षमा हुन नसकेको पुँजीगत खर्च यस वर्ष कसरी हुनसक्छ भन्दै प्रश्न समेत गरे ।

उनले अर्थतन्त्रको वृद्धिदर ८ प्रतिशतको लक्ष्य राख्ने तर र राजस्व २० प्रतिशतले कसरी बढ्छ भन्दै प्रश्न गरे ? आयात निरुत्साहित गर्ने, मूल्यवृद्धि र बैंकको ब्याजदरका कारणले पनि आर्थिक वृद्धिको लक्ष्य कसरी हुन्छ उत्तर दिनुपर्ने बताए ।

वैदेशिक अनुदान ६३ अर्ब भनेकोमा करिब २४ अर्ब रुपैयाँ आयो, यसपटक ५५ अर्ब रुपैयाँ आउँछ भन्दै गर्दा यो स्रोत यथार्थपरक कसरी छ भन्दै अर्थमन्त्रीसमक्ष प्रश्न गरे ।

उनले जेठसम्म पुँजीगत खर्च ३३ प्रतिशतमात्रै रहेको भन्दै कसरी कार्यान्वयन हुन्छ त्यसको जवाफ अर्थमन्त्रीले दिनुपर्ने बताए ।

बजेट रुपान्तकारी हुनुपर्ने तर त्यसका लागि आधार अर्थमन्त्रीले दिन सक्नुपर्ने बताए । उनले समग्रमा बजेट निजी क्षेत्रमैत्री भएको र निजी क्षेत्रका माग सम्बोधन गरेको बताए ।


क्लिकमान्डु