भवन निर्माण मापदण्ड संशोधन, कुन शहरमा कत्रो भवन बनाउन पाइन्छ ?




काठमाडौं । सरकारले वस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधाभूत निर्माण मापदण्ड संशोधन गरेको छ । उक्त संशोतित मापदण्ड राजपत्रमा प्रकाशित गरिएको छ ।

सरकारले काठमाडौं उपत्यकासहितका शहरी क्षेत्रमा भवन निर्माणसम्बन्धी नयाँ व्यवस्था गरेको हो । जसमा सरकारले मिश्रित आवासीय भवनलाई प्रोत्साहन हुने गरी मापदण्ड संशोधन गरेको छ ।

पछिल्लो समय विभिन्न ठूला शहरमा जग्गा पाउन मुस्किल भएको र जग्गा खरिद गर्न मोटो रकम खर्चिनुपर्ने अवस्था भएपछि सरकारले मिश्रित आवासीय भवनलाई प्राथमिकतामा राखेको हो । सरकारले भुईं अनुपात (फार) मा नयाँ व्यवस्था गरेको राजपत्रमा उल्लेख छ ।

सरकारले नयाँ मापदण्डअनुसार काठमाडौं उपत्यकामा जग्गाको भुईं क्षेत्रको (फार) ४.५ सम्म कायम गरेको छ । उक्त संशोधित मापदण्डले जमिनको क्षेत्रफलको तुलनामा ४.५ गुणासम्म ठूलो भवन बनाउन पाउने जनाएको छ । जसमा आगामी दिनमा थोरै क्षेत्रफलमा पनि ठूलो भवन बनाउन सक्नेछन् । सरकारले भुईं जग्गाको क्षेत्रफलमा कुनै संशोधन गरेको देखिँदैन ।

त्यसैगरी, काठमाडौं उपत्यकामा आवासीय भवनमा भने जग्गाको क्षेत्रफलभन्दा ४ गुणा ठूलो भवन बनाउन सक्ने व्यवस्था गरेको छ । व्यापारिक तथा सभा-सम्मेलन भवन ३.५ गुणा र संस्थागत भवन २.५ गुणाभन्दा ठूलो बनाउन सक्नेछन् ।

पहाडी क्षेत्रमा व्यापारिक तथा सभासम्मेलन भवन ३.५ गुणा, आवासीय भवन ३.५ गुणा, मिश्रित आवासीय भवन ४ गुणा र संस्थागत भवन २.५ गुणासम्म ठूलो बनाउन सक्नेछन् ।

साथै, तराईको हकमा व्यापारिक तथा सभा–सम्मेलन भवनमा ३ गुणा, आवासीय भवन ३ गुणा, मिश्रित आवासीय भवन र संस्थागत भवन २.५ गुणासम्म बनाउन सक्नेछन् ।

जसमा सरकारले पुरानो सहरी क्षेत्रमा परम्परागत वास्तुकला कायम राख्ने गरी विकास प्राधिकरण वा नगर विकास समिति वा नगरपालिकाले तोकिदिए बमोजिमको भुईं क्षेत्रको अनुपात (फार) कायम हुनेछ ।

सरकारले भवनको उचाईअनुसार सँधियारतर्फको न्यूनतम सेटब्याक कायम गरेको छ । जसमा सरकारले १० मिटरसम्म भवनको उचाइमा सार्वजनिक भवनाको हकमा १.५ मिटर र अन्य तथा संयुक्त भवनको हकमा १.५ मिटर सेटब्याक कायम गर्नुपर्ने उल्लेख छ ।

१० मिटरभन्दा बढी १७ मिटरसम्म भवनको उचाईमा सार्वजनिक भवनको हकमा ३ मिटर र अन्य तथा संयुक्त भवनको हकमा २ मिटर, १७ मिटरभन्दा बढी २४ मिटरसम्म सार्वजनिक भवनको हकमा ४ मिटर र अन्य तथा संयुक्त भवनको हकमा ३ मिटर, २४ मिटरभन्दा बढी ३१ मिटरसम्मको सार्वजनिक भवनमा ५ मिटर र संयुक्त र अन्यमा ४ मिटर, ३१ मिटरभन्दा बढी ३८ मिटरसम्मको सार्वजनिक भवनमा ६ मिटर र अन्य र संयुक्त भवनको हकमा ५ मिटर, ३८ मिटरभन्दा बढी ४५ मिटरसम्मको सार्वजनिक भवनमा ७ मिटर र संयुक्त र अन्य भवनमा ६ मिटर र ४५ देखि ५२ मिटरसम्मको सार्वजनिक भवनले ८ मिटर र अन्य र संयुक्त भवनले ७ मिटर सेटब्याक छोड्नुपर्ने मापदण्डमा उल्लेख छ ।

५२ देखि ५९ मिटरसम्मको सार्वजनिक भवनले ९ मिटर र अन्य र संयुक्त भवनले ८ मिटर, ५९ देखि ६६ मिटरसम्मको सार्वजनिक भवनले १० मिटर र संयुक्त भवनले ९ मिटर, ६६ देखि ८० मिटरसम्मको सार्वजनिक भवनले ११ मिटर र संयुक्त भवनले १० मिटर, ८० देखि ९४ मिटरसम्मको सार्वजनिक भवनले १२ मिटर र संयुक्त भवनले ११ मिटर र ९४ देखि १०० मिटरसम्मको सार्वजनिक भवनले १३ मिटर र अन्य र संयुक्त भवनले १२ मिटर सेटब्याक कायम गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।

संयुक्त आवासको हकमा भने अगाडी तर्फको सेटब्याक तराईको क्षेत्रमा न्यूनतम ८ मिटर तथा काठमाडौं उपत्यका र पहाडको क्षेत्रमा न्यूनतम ६ मिटर हुनुपर्ने जनाएको छ ।


क्लिकमान्डु