मौसम सफा नभई उडान अनुमति नदिने



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले मौसम सफा नभई आन्तरिक उडान अनुमति नदिने भएको छ ।

तारा एयरको विमान दुर्घटना भएसँगै हवाई दुर्घटनाको जोखिम न्यूनीकरण गर्न प्राधिकरणले इन रुट अर्थात् विमान उड्ने र पुग्ने स्थान उडान मार्गको मौसम अनुकूल नभएसम्म उडान अनुमति नदिने निर्णय गरेको हो । मौसम खराबीले तारा एयरको ट्वीनअटर विमान दुर्घटनामा परेको प्राधिकरणले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता देवचन्द्रलाल कर्णले इनरुटको मौसम सफा नभएको अवस्थामा उडानको अनुमति नदिने निर्णय गरिएको बताए । उनका अनुसार यस्तो निर्णय भिएफआर (भिजुअल फ्लाइट रुल्स) बाट उडान गर्ने विमान र विमानस्थलका लागि मात्रै लागू हुनेछ ।

पहिले विमान उड्ने विमानस्थल र विमान पुग्ने विमानस्थलको मौसम सफा भएमा प्राधिकरणले उडान अनुमति दिने गरेकोमा अब इनरुट मौसम पनि सफा हुनुपर्ने निर्णय गरिएको हो ।


क्लिकमान्डु