नेपालगञ्ज उपमहानगरको प्रमुखमा कांग्रेस, उपप्रमुखमा जसपा विजयी



काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन् ।

प्रमुखमा कांग्रेसका प्रशान्त विष्टले नेकपा (एमाले) का पशुपतिदयाल मिश्रलाई दोब्बर मतान्तरले पराजित गरेका छन् । उनले २३ हजार ४६० मत ल्याएर निर्वाचित भएका हुन् । एमालेका मिश्रले ११ हजार ६७५ तथा राप्रपाका नन्दलाल वैश्यले सात हजार ५९८ मत पाएका छन् ।

उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का कमरुद्दिन राई विजयी भएका छन् । उनले एमालेकी शान्ति ढकाललाई पछि पार्दै १७ हजार ९५० मतले विजयी भएकी छिन । ढकालले १० हजार ९१५ मत पाउँदा राप्रपाकी विन्दु चर्तीमगरले १० हजार १३५ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाईंले जानकारी दिए ।

नेपालगञ्ज उपमहानगरपालिकामा कूल मतदाता सङ्ख्या ८१ हजार ७९४ रहेकामा ६१ हजार २०५ मत खसेको थियो । उपमहानगरपालिकामा एक हजार ४९ मत बदर भएको थियो । २३ वडा रहेको उपमहानगरपालिकामा जसपा ६, कांग्रेस पाँच, एमाले पाँच, माओवादी केन्द्र चार र राप्रपा तीन वडामा विजयी भएको छ । बाँकेमा हालसम्म तीन गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको छ । दुई गाउँपालिकामा कांग्रेस र एउटामा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।


क्लिकमान्डु