अहिलेको खराब अर्थतन्त्र बन्नुमा अर्थमन्त्रीको कुनै दोष छैन : विनोद चौधरी



काठमाडौं । अर्बपति व्यवसायी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले अहिले नेपालको अर्थतन्त्र खराब अवस्था आउनुमा अर्थमन्त्री (जनार्दन शर्मा) को कुनै पनि दोष नभएको बताएका छन् ।

बिहीबार संसदमा सम्बोधन गर्दै अहिलेको खराब अर्थतन्त्र पहिलोदेखिको समस्या भएको बताए । ‘थोत्रो गाडीमा ड्राइभर परिवर्तन हुदैमा गाडी रफ्तारले कुद्दैन,’ चौधरीले भने, ‘अहिले नेपालको अर्थतन्त्र यस्तै भएको छ । नेपालको खराब अर्थतन्त्र भयो भनेर अर्थमन्त्रीलाई दोष दिनुमा कुनै तुक छैन ।’

नयाँ सरकारले बजेट पनि नल्याएको अवस्थामा दोषमात्र लगाउन नहुने उनको तर्क थियो । नेपालमा खराब अर्थतन्त्र लुकाउने पुरानो प्रवृत्ति भएको भन्दै अहिले पनि त्यस्तै भएका बताए । ‘हामीले दसौं वर्षदेखि नेपालमा अर्थतन्त्र खराब भयो भनेर कराइ रहेका छौं,’ उनले भने, ‘बजेटको बेला बाहेक नेपालको अर्थतन्त्रको बारेमा छलफल नगर्ने हाम्रो मानसिकता छ ।’ पुँजीगत बजेट ३१ प्रतिशतमा झरेको बताए ।

अहिलेको मुख्य समस्या युवामा नैराश्यता आउनु भएकाले यसलाई सरकारले सम्बोधन गर्नु पर्ने बताए । हरेक दिन हजारौं युवा बाहिर गइरहेका बताउँदै विदेश पढ्न जाने विद्यार्थीले वार्षिक अर्बौं रुपैयाँ लिएर गएको बताए ।

अघल्लिो सरकारले ७ लाख युवालाई रोजगारी दिने घोषणा गरेको भए पनि ७० हजारलाई पनि दिन नसकेको बताए ।
‘शिक्षा क्षेत्रमा खुला नीति ल्याउने हो भने बाहिर जाने लगानी नेपालमै बस्ने थियो,’ उनले भने, ‘रोजगारी पनि सृजना हुने थियो ।’
भैरहवा अन्तर्राष्ट्रिय विमान स्थल शुरु हुँदा यसले उत्साह थपेको बताए । भारत र चीनबाट ५० लाख पर्यटक ल्याउन सक्ने हो भने नेपालको बेरोजगारको सबै समस्या समाधान गर्न सकिने उनको भनाइ छ ।

नेपालको व्यापार घाटा चुलिएको बारे बोल्दै चौधरीले भारतसँगको व्यापार घटाउने हो भने एकमात्र उपाय विद्युत निर्यात भएको बताए । छिट्टै नयाँ बजेट ल्याउने समय भएको भन्दै नयाँ बजेटले विगतमा थुप्रेर बसेका समस्या समाधान गर्ने योजना ल्याउन विश्वास व्यक्त गरे ।


क्लिकमान्डु