पाँच दिनभित्र मतगणना सक्न आयोगको निर्देशन



काठमाडौं । निर्वाचन आयोगले मतगणना बढीमा पाँच दिनभित्र सक्न निर्देशन दिएको छ ।

मतगणनामा सानातिना विषयलाई ठूलो मुद्दा बनाइ विवाद बल्झाउने, गणना कार्य सम्पन्न भई मुचुल्का उठाएर अन्तिम परिणाम घोषणा गर्ने समयमा पुनः गणना गराउन माग गर्नेजस्ता समस्या खडा गर्ने गरिएको छ ।

यस्तै गणना गर्दै जाँदा मतगणनाको अन्तिम चरणमा पुग्दा झिनो मतान्तर देखिएमा सुरुदेखि नै पुनः मतगणना गराउन खोज्नेजस्ता कार्यबाट मतगणना यथा समयमा सम्पन्न गर्ने कार्यमा व्यवधान उत्पन्न हुने हुँदा त्यस प्रकारका व्यवहार प्रदर्शन नगर्न आयोगले आग्रह गरेको छ ।

आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले नेपालको संविधान बमोजिम विभिन्न तहका निर्वाचनको सञ्चालन, रेखदेख, नियन्त्रण र निर्देशनको समग्र जिम्मेवारी निर्वाचन आयोगमा रहेको र आयोगले निर्वाचन सञ्चालनका सबै प्रक्रियामा आयोगको समग्र जिम्मेवारी रहेको प्रति कुनै द्विविधा नरहेको सन्दर्भमा केही सञ्चारमाध्यममा आएका अन्यथा अर्थ लाग्न सक्ने आशयको समाचारप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाए ।

‘निर्वाचन पद्धति र प्रक्रियामा भ्रम उत्पन्न हुने खालका समाचार सम्प्रेषण नगर्न नगराउन आयोग आग्रह गर्दछ । तोकिएको जिम्मेवारी समयमै सम्पन्न गर्नका लागि चालिएका कदमउपर अन्यथा टीकाटिप्पणी गरी आयोगको गरिमा र निर्वाचन प्रक्रियाप्रति नै अविश्वास हुने गरी समाचार सम्प्रेषण नगर्न, नगराउन हुन आयोग सबैमा हार्दिक अनुरोध गर्दछ’, जारी विज्ञप्तिमा भनिएको छ, ‘यथासमयमा मतगणना सम्पन्न होस् भन्ने सबैको चाहनालाई विभिन्न मतगणनास्थलमा रहेका राजनीतिक दल, उम्मेदवार, प्रतिनिधि र कर्मचारी वर्गले यथार्थरुपमा ग्रहण गरी उक्त चाहनाबमोजिम छिटो कार्य सम्पादन गराउन आयोग अपिल गर्दछ ।’


क्लिकमान्डु