युवा र महिलाका कार्यक्रममा २५% बजेट विनियोजन गर्नुपर्छ: पुष्पा भुसाल



काठमाडौं । नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले कुल बजेटको २५ प्रतिशत रकम युवा र महिला लक्षित कार्यक्रममा विनियोजन गर्नुपर्ने माग गरेकी छिन् ।

विनियोजन विधेयक २०७९ को सिद्दान्त र प्राथमिकतामाथि प्रतिनिधि सभामा भइरहेको छलफलमा भुसालले गैरसरकारी क्षेत्रमा काम गर्ने महिला, घरमा काम गर्ने महिलालाई समेत लाभ हुने गरी बजेट निर्माण हुनुपर्ने बताइन् ।

‘देशलाई धनी बनाउने गरी कृषि, पर्यटन र उद्योग सबै क्षेत्रमा बजेट विनियोजन हुनुपर्छ,’ भुसालले भनिन्, ‘उद्घाटन र शिलान्यासको भ्रमबाट मुक्त भएर आम नेपाली जनताको विकास, राष्ट्रिय राजनीतिको स्थिरता र राष्ट्रिय विकासलाई प्राथमिकतामा राखेर देशलाई अगाडि बढाउने गरी बजेट तर्जुमा हुन्न भन्ने विश्वास छ ।’

अर्थतन्त्रमा हाल देखिएका समस्या समाधान गर्नमा पनि बजेट सफल हुने विश्वास व्यक्त गर्दै भुषालले आगामी आर्थिक वर्षको बजेटले महिलालाई सुत्केरी भत्ता दिनुपर्ने, विद्यालयमा निःशुल्क सेनिटरी प्याड वितरण गर्नुपर्ने माग गरिन् ।

विनियोजन विधेयकले कृषि, उद्योग र ग्रामीण क्षेत्रको विकास गर्दै आत्मनिर्भर अर्थतन्त्र बनाउने प्राथमिकता तय गरेको भन्दै सोही अनुसार बजेट विनियोजन हुनुपर्ने भुसालले बनाइन् ।

‘बजेटले सन्तुलित विकासको नीतिलाई प्राथमिकतामा राखेको छ । गरिबिको रेखामुनी रहेका सबै जनतालाई लाभ हुने गरि बजेट बन्नुपर्छ,’ भुसालले भनिन्, ‘बजेटले युवालाई स्वरोजगार बनाउने कार्यक्रम ल्याउनु पर्नेछ । युवालाई देशबाहिर र देशभित्र रोजगार दिनुपर्ने चूनौती छ ।’

आगामी आर्थिक वर्षको बजेटले उर्जा क्षेत्रमा लगानी बढाउनु पर्ने, राजस्व परिचालनको लाभ सबै जनतालाई हुने गरी आर्थिक विकास गर्नुपर्ने, पूर्वाधार विकासबाट ग्रामीण क्षेत्रको विकास गर्नुपर्ने भुसालको सुझाव छ ।


क्लिकमान्डु