बढी सम्पत्ति हुनेले बढी कर तिर्नुपर्छ, कमिसनको लोभमा विदेशी नगुहारौंः झलनाथ



काठमाडौं । एकीकृत समाजबादीका नेता झलनाथ खनालले समाजबादको बाटोमा जाने हो भने प्रगतिशिल कर प्रणाली लागू गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधि सभामा बजेटका सिद्दान्त तथा प्राथमिकता विधेयकमाथि बोल्दै उनले भने, ‘बढी सम्पत्ति हुनेले कर तिर्ने र कम हुनले कम कर बुझाउने व्यवस्था गर्नुपर्छ ।’

करका दायरा जतिसक्दो फैलाउनुपर्ने भन्दै उनले राजस्व चुहावट रोक्नेतर्फ काम गर्नुपर्ने बताए ।

खनालले कर प्रणाली सुधारमा डिजिटल प्रणाली अपनाउनु पर्ने भन्दै न्यायोचित कर प्रणालीको विकास आवश्यक रहेको बताए ।
जनताकै लगानीमा ठूला आयोजना निर्माण गर्न सकिने भए पनि कमिसनको लोभमा विदेशी गुहारिरहेको बताए ।

‘हामीले जनताको लगानी गरेर तामाकोसी जलविद्युत् आयोजना निर्माण गर्यौं, जनतासँगै अर्बौ पुँजी छ तर हामी कमिसनको लोभमा विदेशी गुहारिरहेका छौं ।’

उनले कुनै पनि आयोजनामा विदेशी गुहार्नु नपर्ने बताए ।

उनले विजुली उत्पादन गरेर विदेशीलाई नै बिक्री गर्ने योजना गलत भएको भन्दै त्यसो गर्नुको साटो स्वदेशमै खपत गराउने योजना बनाउनु पर्ने बताए । यसका लागि विद्युतीय सवारी साधनको संख्या बढाउनु पर्ने उनको भनाइ छ ।

‘हाम्रो प्राथमिकता विजुली सबैको घरमा, प्रत्येक उद्योगमा पुर्याउनु पर्ने भन्दै तत्कालको प्राथमिकतामा निर्यातलाई राख्नु हुँदैन,’ उनले भने ।

उनले भूमिसुधारको काममा सरकारको ध्यान जानुपर्ने बताए । साथै, कृषिको उत्पादकत्व बढाउनका लागि कृषिमा यान्त्रिकिकरण गर्नुपर्ने बताए ।

उनले युक्रेनका राष्ट्रपति जेलेक्सीले देश खरानी बनाएको बताए । उनले त्यहाँका राष्ट्रपतिले सन्तुलित विदेशी नीति नलिँदा देश खरानी बनाएको बताए ।

पूर्वाधारको विकासमा सबै पालिकामा कालोपत्रे सडक निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले आगामी बजेटमा महाकाली नदी र मेचीमा करिडोर बनाउनुपर्ने बताए । उनले यसले राष्ट्रिय सुरक्षा तथा पर्यटन विकासमा सहयोग पुग्ने बताए ।


क्लिकमान्डु