गैँडाकोट नगरपालिका प्रमुख-उपप्रमुखमा कांग्रेस विजयी



काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

यसअघि सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा गैँडाकोटमा नगरप्रमुख गुमाएको कांग्रेसले यसपटक बहुमत वडाध्यक्षसहित नगरप्रमुख र उपप्रमुख जितेको हो ।

गैँडाकोटको नगरप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार मदनभक्त अधिकारी निर्वाचित भएका छन् । नेकपा (एमाले)का उम्मेदवार छत्रराज पौडेललाई दुई हजार ८४९ मतान्तरले पछि पार्दै गैँडाकोटको नगरप्रमुखमा अधिकारी विजयी भए । नगरप्रमुखमा निर्वाचित अधिकारीले १६ हजार ४५५ मत प्राप्त गर्दा निवर्तनमा नगरप्रमुख समेत रहेका एमाले उम्मेदवार पौडेलले १३ हजार ६०६ मत प्राप्त गरे ।

त्यसैगरी गैँडाकोट नगर उपप्रमुखमा समेत कांग्रेसकी उम्मेदवार शान्ति कोइराला निर्वाचित भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर उपप्रमुखका उम्मेदवार तुलाराम पौडेललाई करिब दोब्बर मतान्तरले पराजित गर्दै कोइराला नगर उपप्रमुखमा निर्वाचित भए । नगर उपप्रमुखमा निर्वाचित कोइरालाले १६ हजार ११४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी पौडेलले आठ हजार ६४० मतमात्रै प्राप्त गरे ।

जम्मा १८ वटा वडा रहेको गैँडाकोटमा नगरप्रमुख र उपप्रमुख जितेको कांग्रेसले ११ वटा वडाध्यक्ष समेत जितेको छ । गैँडाकोटको नगरप्रमुख गुमाएको एमालेले ६ वटा वडाध्यक्ष जितेको छ भने नेकपा (माओवादी केन्द्र) ले एउटा वडाध्यक्ष जितेको छ ।


क्लिकमान्डु