निर्वाचनमा होमिए कांग्रेस नेता विनोद चौधरीः नवलपुरको आठवटै पालिकामा गठबन्धनलाई विजय बनाउने उद्घोष



नवलपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अर्बपति व्यवसायी विनोद चौधरी स्थानीय तहको निर्वाचनमा होमिएका छन् ।

उनी गृहजिल्ला नवलपुरका ८ वटै स्थानीय तहमा नेपाली कांग्रेस र गठबन्धनका उम्मेदवारलाई विजयी बनाउने उद्देश्यका साथ सक्रिय भएका छन् ।

चौधरी हाल निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रममा व्यक्त बनेका छन् । चौधरी जिल्लाका दुर्गम गाउँमा समेत पुगेर जनतासँग भेटघाट गर्ने, उनीहरूका समस्या बुझ्ने काम गरिरहेका छन् ।

नवलपुरलाई नमूना जिल्ला बनाउन विकास योजना सार्वजनिक गरिसकेका चौधरीले स्थानीय समस्यालाई यस योजनामा समावेश गरेर दिगो विकासको आधार तयार गर्ने रणनीति बनाएका छन् ।

नवलपुर जिल्लामा मध्यविन्दु, कावासोती, देवचुली र गैडाकोट गरी चार नगरपालिका रहेका छन् भने बौदीकाली, हुप्सेकोट, बिनयी त्रिबेणी र वुलिङ्गटार गरि चार गाउँपालिका रहेका छन् ।

स्थानीय निर्वाचनमा नेपाली कांग्रेसकातर्फबाट बौदीकाली गाउँपालिकाको प्रमुखमा के.बी राना, हुस्पेकोटमा लक्ष्मीदेवी पाण्डे, विनय त्रिवेणीमा डम्बर बहादूर जिसी, वुलिङटारमा शशि किरण बस्ताकोटी, मध्यविन्दु नगरपालिकामा सुर्यबहादुर गुरुङ्ग, कावासोती नगरपालिकामा महेन्द्र पोखरेल, गैडाकोटमा मदनभक्त अधिकारी, देवचुलीमा अशोक बस्ताकोटी नेतृत्वमा गठबन्धनले निर्वाचन लडेको छ ।


क्लिकमान्डु