जीवन बीमा कम्पनीको नयाँ व्यवसाय साढे ३ अर्बले खुम्चियो, पुराना कम्पनीको धेरै घट्यो



काठमाडौं । जीवन बीमा कम्पनीहरूको नयाँ व्यवसाय (प्रथम बीमाशुल्क) घटेको छ ।

एक वर्षको अवधिमा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीको नयाँ व्यवसाय साढे ३ अर्ब रूपैयाँ अर्थात् ११ प्रतिशतले खुम्चिएको छ ।

समग्र जीवन बीमा कम्पनीको औसतमा ११ प्रतिशतले नयाँ व्यवसाय खुम्चिँदा पुराना बीमा कम्पनीको व्यवसाय बढी प्रभावित भएको छ ।

चालु आवको ९ महिनाको अवधिमा कम्पनीले १ खर्ब २४ अर्ब २ करोड ९९ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । जुन गत आवको यसै अवधिको तुलनामा १०.९७ प्रतिशतले कमी हो ।

जसमा कम्पनीहरुले प्रथम बीमा शुल्कवापत २८ अर्ब ८९ करोड ९३ लाख ६७ हजार रूपैयाँ संकलन गरेका छन् । गत आवको यसै अवधिमा कम्पनीहरुले प्रथम बीमा शुल्क वापत ३२ अर्ब ४६ करोड रूपैयाँ संकलन गरेका थिए । कुल बीमाशुल्कमा प्रथम बीमाशुल्कको हिस्सा जम्मा २८.२१ प्रतिशत छ । जीवन बीमा कम्पनीहरूले पोलिसी बिक्री गरेको शुरुवातको किस्ता वापत प्राप्त हुने रकम प्रथम बीमाशुल्क हो ।

साथै, यस अवधिमा नवीकरणबाट कम्पनीहरुले ७३ अर्ब ५३ करोड ५ लाख ४१ हजार रूपैयाँ संकलन गरेका छन् । कुल व्यवसायमा नवीकरण शुल्कको हिस्सा ७१.७९ प्रतिशत हो ।

सबैभन्दा धेरै सन नेपाल लाइफको बढ्दा गुँरास लाइफको घट्यो
बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार यस अवधिमा सन नेपाल लाइफको प्रथम व्यवसाय सबैभन्दा धेरै प्रतिशतले बढेको छ ।

कम्पनीको प्रथम बीमाशुल्क संकलन रकम गत आवको सोही अवधिको तुलनामा १७०.३८ प्रतिशतले बढेर १ अर्ब ८६ करोड ५६ लाख रूपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा कम्पनीले यस्तो शुल्क ६९ करोड रूपैयाँ संकलन गरेको थियो ।

पुराना कम्पनीतर्फ राष्ट्रिय बीमा संस्थान र नेशनल लाइफ बाहेक अन्य सबैको नयाँ व्यवसाय घटेको छ ।

नेपाल लाइफ, एलआइसी नेपाल, एशियन लाइफ, सूर्या लाइफ, प्राइम लाइफ, गुँरास मेट लाइफसँगै नयाँ जीवन बीमातर्फ यूनियन लाइफ, ज्योति लाइफ, रिलायन्स लाइफ, ज्योति, आईएमई र सानिमा लाइफको प्रथम बीमाशुल्क संकलन रकम घटेको छ ।

यस अवधिमा गुराँस लाइफको प्रथम बीमाशुल्क संकलन रकम धेरै प्रतिशतले घटेको छ । समीक्षा अवधिमा कम्पनीको प्रथम बीमाशुल्क संकलन रकम ६४.६० प्रतिशतले घटेर ५० करोड २७ रूपैयाँमा सीमित भएको छ । गत आवको यसै अवधिमा इन्स्योरेन्सले प्रथम बीमाशुल्कबाट एक अर्ब ४२ करोड रूपैयाँ संकलन गरेको थियो ।

यस्तै, गुराँस लाइफपछि धेरै प्रतिशतले प्रथम बीमाशुल्क संकलन रकम घट्ने कम्पनीमा एलआइसी नेपाल छ । कम्पनीको प्रथम बीमाशुल्क संकलनमा ३४.०१ प्रतिशतको गिरावट आएको छ । कम्पनीले यस अवधिसम्ममा प्रथम बीमाशुल्क संकलनबाट एक अर्ब ९४ करोड २ लाख रूपैयाँ संकलन गरेको छ ।

गत आवको यसै अवधिमा कम्पनीले प्रथम बीमाशुल्कबाट २ अर्ब ९४ करोड रूपैयाँ संकलन गरेको थियो ।

समीक्षा अवधिमा एशियन लाइफको प्रथम बीमाशुल्क संकलन रकम १०.५२ प्रतिशत, सूर्या लाइफको ११.२२ प्रतिशत, प्राइम लाइफको १०.०२ प्रतिशत, मेट लाइफको २.५९ प्रतिशत, नेपाल लाइफको ३०.०१ प्रतिशत, यूनियन लाइफको ३१.४३ प्रतिशत, ज्योति लाइफको १०.१३ प्रतिशत, रिलायन्स लाइफको २८.०६ प्रतिशत, आईएमई लाइफको २.८९ प्रतिशत र सानिमा लाइफको १६.८६ प्रतिशतले घटेको छ ।

राष्ट्रिय बीमा संस्थान, नेशनल लाइफ, सिटिजन लाइफ, प्रभु लाइफ, सिटिजन लाइफ, महालक्ष्मी लाइफ र रिलायबल नेपाल लाइफको प्रथम बीमाशुल्क बढेको छ ।

राष्ट्रिय बीमा संस्थानको नयाँ व्यसाय १४.९६ प्रतिशत, नेशनल लाइफको १०.४९ प्रतिशत, रिलायबल नेपाल लाइफको ६.७२ प्रतिशत, सिटिजन लाइफको ४१.०१ प्रतिशत, प्रभु लाइफको ६.६१ प्रतिशत र महालक्ष्मी लाइफको १७.२४ प्रतिशतले बढेको हो ।

प्रथम बीमाशुल्क (लाख)


क्लिकमान्डु