७४ वर्षपछि उड्ड्यन क्षेत्रले रच्यो अर्को इतिहास



काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि अर्को अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै अब नेपालका दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुनेछ । बिहीबार नेपालको इतिहासमा पहिलोपटक काठमाडौंबाहेक अन्य कुनै भूमिमा वाइडबडी जहाज अवतरण भएको हो ।

काठमाडौंपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी विमान अवतरण भएसँगै यसलाई दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको डेमोस्टे«सन फ्लाइट नाम दिइएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको वाइडबडीको पहिलो उडानमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसहित २६० जना लिएर नेवानिको वाइडबडी जहाजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गरेको थियो ।

यो उडानको सफल अवतरणसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा विमानस्थल योग्य भएको प्रमाणित भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले नेपालको इतिहासमा पहिलो पटक काठमाडौं बाहेक अन्य कुनै भूमिमा वाइडबडी जहाज अवतरण गरेको पहिलो घटना भएको बताए ।

‘बिहीबार नेपालको इतिहासमा पहिलो पटक काठमाडौं बाहेक अन्य कुनै भूमिमा वाइडबडी जहाज अवतरण गरेको पहिलो घटना हो’ उनले भने ‘काठमाडौं पछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी जहाज ल्याण्ड गरेको छ । बिहीबार देखि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको डेमोस्टेुसन फलाइट भनेर नाम दिएका छौं । नेपालको नागरिक उड्डयन क्षेत्रमा ७४ वर्षपछि दोस्रो विमानस्थल हाम्रो भूमिमा निर्माण सम्पन्न गरेका छौं । भगवान गौतमबुद्धको जन्मदिन बुद्ध पूर्णिमा जेठ २ गते मे १६ देखि विमानस्थलबाट व्यवसायी उडान सञ्चालन हुने छ । उक्त दिन यो विमानस्थलको औपचारिक रुपमा उद्घाटन हुनेछ ।’

७४ वर्षीय नागरिक उड्डयन प्राधिकरणको इतिहासमा यो कोषेढुङ्गा हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी जहाजले आफ्नो पहिलो उडान भरे पनि नियमित रुपमा भने जेठ २ गते बुद्ध जयन्तीबाट उडान शुरु हुनेछ । पहिलो अन्तर्राष्ट्रिय उडान जजिरा एयरले गर्ने प्राधिकरणले बताएको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्राफिक जाम भएको खण्डमा भने अहिले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न सक्ने महानिर्देशक ज्ञवालीले बताए ।

भैरहवा विमानस्थलमा ४ जुलाई सन् १९५८ देखि आन्तरिक उडान हुन थालेको हो । अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा दोस्रो विमानस्थल सञ्चालन हुनु हवाइ उड्डयनको इतिहासमा नयाँ फड्को भएको निर्देशक अधिकारीले बताए । अन्तर्राष्ट्रिय व्यवसायिक उडान भएसँगै विमानस्थल २४ घण्टा सञ्चालनमा आउने उनले बताए । सन् २०१७ को डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को शुरूवातमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरबाहीले रोकिएको थियो ।

पछिल्लो पटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहे पनि कोभिड–१९ महामारीका कारण करिव पाँच वर्षपछि विमानस्थल व्यवसायिकरुपमा सञ्चालनमा आएको हो । कुल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यवसायिकरुपमा सञ्चालनमा आएपछि हालको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक जाम कम हुने प्राधिकरणको विश्वास लिएको छ ।


क्लिकमान्डु