मेयरका उम्मेद्वार बालेनको घोषणापत्रः भ्रष्टाचार विरोधी ब्यूरोदेखि आइडिया बैंकसम्म



काठमाडौं । स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरको मेयर पदमा उम्मेद्वारी घोषणा गरेका बालेन शाहले २८ बुँदे घोषणापत्र सार्वजनिक गरेका छन् ।

शाहले आफ्नो कार्यकालमा भ्रष्टाचार न्यूनिकरणका लागि भ्रष्टाचार विरोधी ब्यूरोस्थापना गर्नेदेखि उद्यमशिलताको विकासका लागि आइडिया बैंक स्थापना गर्ने घोषणा गरेका छन् ।

उनले ७० वर्षमाथिका वृद्धवृद्धाको हकमा घरमै पुगेर निःशुल्क परीक्षणदेखि सबै वडा र टोलस्तरमा सार्वजनिक शौचालय स्थापना गरिने उल्लेख गरेका छन् ।

उनले पार्किङको व्यवस्थापन गर्न महानगरभित्रका केही भवन भाडामा लिएर बहुतले पार्किङको व्यवस्था गरिने उल्लेख गरेका छन् । साथै, महानगरभरी १० हजार सीसीटीभी जडान गर्ने पनि घोषणापत्रमा उल्लेख छ । काठमाडौं महानगरको आफ्नै ट्याक्सी एप सञ्चालन गर्ने र सार्वजनिक यातायात एप र मासिक प्रिपेड कार्ड शुरुवात गरिने उल्लेख छ । जसले जुनसुकै यातायातमा महिनाभरी जुनसुकै रुटमा जान सकिनेछ ।

उनले जन्मदर्ता, मृत्युदर्ता, विवाहदर्ताको प्रमाणपत्रलगायतका कागजातहरु होम डेलिभरी गर्ने, वृद्धभत्ता होमडेलिभरी गर्ने र होमडेलिभरीका लागि रोजगारी सिर्जना गरिने समेत उल्लेख छ ।


क्लिकमान्डु