सरकारी निकाय सञ्चालनका लागि एकीकृत विद्युतीय प्रणाली, मोबाइल एप खोल्न सक्ने



काठमाडौं । सरकारले सरकारी निकाय सञ्चालन सम्बन्धी एकीकृत विद्युतीय प्रणाली निर्देशिका जारी गरेको छ ।

सरकारले सरकारी निकायबाट सम्पादन हुने कार्यहरूलाई एउटै विद्युतीय प्रणालीमार्फत् सरल, सहज, छिटो, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारीरुपमा कागजरहित अवरधारणालाई कार्यान्वयन गर्नका लागि विद्युतीय प्रणाली निर्देशिका जारी गरेको हो ।

सरकारी निकायले प्रणालीमार्फत् तोक आदेश दिने तथा टिप्पणी पेश गर्ने, चिठीपत्रको दर्ता तथा चलानी गर्ने,विद्युतीय हाजिरी राख्ने, बिदा र काज स्वीकृत गर्ने, जिन्सी व्यवस्थापन सम्बन्धी कार्य गर्ने, कार्यसम्पादन मूल्याङ्कन सम्बन्धी कार्य गर्ने, नियुक्ति, काज, सरुवा, रमाना र पदस्थापन गर्ने, कार्यक्रम कार्यान्वयन योजना तयार गर्ने, प्रगतिको विवरण भर्ने, प्रगति प्रतिवेदन तयार गर्ने र अनुगमन व्यवस्थापन सम्बन्धी कार्य गर्ने जनाएको छ ।

त्यसैगरी, समिति, उपसमिति वा कार्यदल गठन गर्ने, बैठक सञ्चालन तथा व्यवस्थापन गर्ने, कार्यसम्पादन करार सम्बन्धी कार्य गर्ने, सार्वजनिक सम्पत्ति व्यवस्थापन सम्बन्धी कार्य गर्ने, व्यवस्थित अभिलेख राख्ने र मन्त्रालयले निर्धारण गरेका अन्य कार्य गर्ने राजपत्रमा उल्लेख छ ।

जसमा सरकारले उक्त कार्यमध्ये कुनै कार्य सरकारी निकायबाट अनिवार्य रुपमा प्रणाली प्रयोग गरी सम्पादन गर्ने गरी तोक्न सक्नेछ ।

अलग प्रणालीमार्फत् कार्य सञ्चालन गर्न आवश्यक भएमा कार्यान्वयन समितिको सिफारिसमा सम्बन्धित सरकारी निकायले अलग प्रणाली स्थापना गरी सञ्चालन गर्न सक्नेछ ।

साथै, सरकारीका कुनै पनि निकायले प्रणालीसँग आबद्ध हुने गरी मोबाइल एप सञ्चालनमा ल्याउन सक्नेछ ।

सो प्रणाली प्रयोकर्ताहरूका लागि प्रणाली व्यवस्थापन (एडमिन) गर्नुपर्नेछ । प्रणालीमा आबद्ध सरकारी निकायले आफ्नो निकायमा प्रणाली सञ्चालनका लागि निकायगत सञ्चालनकर्ता तोक्नुपर्नेछ ।

त्यसैगरी, प्रदेश सरकार तथा स्थानीय तहले कार्यसम्पादन गर्दा प्रणालीको प्रयोग गर्ने गरी प्रणालीमा आवद्ध हुन सक्नेछन् ।


क्लिकमान्डु