माओवादीले भरतपुर नै खोजेको होइन, ६ महानगरमध्ये एउटा जुन भए पनि हुन्छः प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले माओवादीले भरतपुर नै चाहिने भन्दै अडान नराखेको बताएका छन् ।

स्थानीय तहको निर्वाचनका लागि ६ महानगरमध्ये आफूहरुले एउटा जुन भए पनि चाहेको बताए ।

सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘अहिले माओवादीलाई भरतपुर महानगर नै चाहियो भने जसरी चर्चा भइरहेको छ, त्यसो होइन गठबन्धनमा कांग्रेसलाई ३ वटा, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीलाई एक÷एक वटा छुट्याउँ भनेको हो ।’

उनले ११ वटा उपमहानगरको हकमा पनि सोही तरिकाले गठबन्धनले भाग लगाउनु पर्ने आफ्नो अडान रहेको बताए ।

‘भरतपुर नभइ भएन, रेणु दाहाल नै चाहियो भनेको होइन,’ उनले भने, ‘कम्तीमा एउटा महानगर माओवादी केन्द्रको भागमा पर्नुपर्छ भनेको हो ।’

उनले रेणुले जितिराखेको भएर भरतपुर माओवादी केन्द्रका लागि सजिलो हुने बताए ।

उनले सोमबार बेलुकासम्म देशमा ६ वटा महानगर र ११ उपमहानगर पालिकामा गठबन्धनको बीचमा समझदारी बनाउने उनको भनाइ छ । उनले महानगर र उपमहानगरको हकमा उम्मेद्वार उठाउने काम केन्द्रबाटै ट्ंग्याउने बताए ।

एउटै पार्टीमा पनि टिकट नपाउँदा बागी उठने गरेको सन्दर्भलाई स्मरण गर्दै प्रचण्डले ५ दलको गठबन्धनमा केही विरोधका स्वर सुनिनु लोकतान्त्रिक परिपाटीमा स्वभाविक भएको बताए ।

फरक प्रसङमा उपेन्द्र महतो र बाबुराम भट्टराईसँग निर्वाचनको समयमा राम्रो कुराकानी भइरहेको बताए ।

‘बीचमा तितोमिठो पोख्ने कुरा भए होला तर अहिले छलफल भइरहेको छ, धेरै तालमेल हुन सक्छ,’ उनले भने ।

उनले सरकार र सरकारमा भएका कुनै पनि पार्टीको निर्वाचन सार्ने मनसाय नभएको जिकिर गरे ।


क्लिकमान्डु