अर्थतन्त्रमा झन समस्यामा, २ खर्ब ५८ अर्बले शोधानान्तर घाटामा



काठमाडौं । फागुन महिनासम्ममा देशबाट बाहिरिने रकम र भित्रने रकमको अन्तर(शोधानान्तर) २ खर्ब ५८ अर्ब रुपैयाँले घाटामा गएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार फागुन मसान्तसम्म २ खर्ब ५८ अर्ब रुपैयाँले शोधानान्तर घाटामा रहेको तथ्यांक सार्वजनिक गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब १ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५६ करोड ५८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब १७ करोडले घाटामा रहेको छ ।

माघ मसान्तसम्म २ खर्ब ४७ अर्बले शोधानान्तर घाटामा थियो ।

२०७८ असार मसान्तमा १३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले कमी आई २०७८ फागुन मसान्तमा ११७१ अर्ब कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ फागुन मसान्तमा १८.५ प्रतिशतले कमी आई ९ अर्ब ५८ करोड कायम भएको छ ।

आर्थिक वर्ष २०७८-७९ को आठ महिनाको आयातलाई आधारमान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.४ महिनाको वस्तु आयात र ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०७८ फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (अघिल्लो आर्थिक वर्षको), कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २७.४ प्रतिशत, ५५.६ प्रतिशत र २२.० प्रतिशत रहेका छन् । २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।


क्लिकमान्डु