
एजेन्सी । जिम्बाब्वेस्थित इरानी दूतावासले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको त्रास फैलाउने रणनीति र पोस्टहरूको व्यंग्यात्मक टिप्पणीमार्फत जवाफ दिइरहेको छ ।
इरानीहरूको जवाफ पढेर इन्टरनेट प्रयोगकर्ताहरू पेट मिचीमिची हाँसिरहेका छन् ।
हर्मुज जलयोजक खोलिएन भने इरानका पावर प्लान्ट र पुलहरूमा आक्रमण गर्ने ट्रम्पको पछिल्लो धम्कीको जवाफ दिँदै दूतावासले भन्यो, ‘हामीले साँचो हरायौं ।’
ट्रम्पले मंगलबार राति ८ बजेसम्म उक्त महत्त्वपूर्ण जलमार्ग नखोलिएमा कठोर कारबाही गर्ने धम्की दिएका छन् ।
ट्रम्पले दिएको उक्त समयसीमाको पनि खिल्ली उडाउँदै दूतावासले लेख्यो, राति ८ बजेको समय त्यति उपयुक्त छैन । के तपाईंले यसलाई दिउँसो १ र २ बजेको बीचमा वा सम्भव भएमा राति १ र २ बजेको बीचमा सार्न सक्नुहुन्छ ? यस महत्त्वपूर्ण विषयमा ध्यान दिनुभएकोमा धन्यवाद ।’
ट्रम्पले ट्रुथ सोसलमा गरेको ‘त्यो जलडमरूमध्य खोल, तिमी पागलहरू’ (अश्लील शब्द प्रयोग गरिएको) पोस्टले विश्वलाई नै अचम्मित तुल्याएको छ । उनको धम्कीका कारण अमेरिकी संविधानको २५औं संशोधन लागू गर्नुपर्ने माग समेत उठ्न थालेको छ । त्यस प्रावधान अन्तर्गत राष्ट्रपतिलाई उनको इच्छा विपरीत पदबाट हटाउन सकिन्छ ।
ट्रम्पले एकपछि अर्को धम्कीहरू बर्साइरहँदा दूतावासले दिने रमाइला जवाफ र व्यंग्यात्मक टिप्पणीका कारण यो सामाजिक सञ्जालमा निकै लोकप्रिय भएको छ । ‘इरानले ट्रम्पलाई ट्रोल गरिरहेको छ, हामी कुन वर्षमा छौं ?’ भन्ने एक टिप्पणीको जवाफमा दूतावासले लेख्यो, ‘अझै ढुंगे युगमा पुगेका छैनौं ।’
यो ट्रम्पको हामी इरानलाई बम हानेर ढुंगे युगमा पुर्याइदिन्छौं भन्ने धम्कीप्रति लक्षित व्यंग्य थियो ।
युद्ध अन्त्य हुने कुनै संकेत नदेखिएको अवस्थामा जथाभावी धम्की दिइरहने ट्रम्पलाई दूतावासले जसरी गिज्याइरहेको छ त्यसका लागि मानिसहरूले दूतावासको प्रशंसा गरिरहेका छन् ।








प्रतिक्रिया