गभर्नर निलम्बनपछि राष्ट्र बैंकमा रिक्तता, दुई सञ्चालकको पदावधी सकिदै



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महप्रसाद अधिकारीलाई निलम्बन गरेपछि केन्द्रीय बैंकमा रिक्तता देखिएको छ । सरकारले शुक्रबारदेखि लागू हुने गरी गभर्नर अधिकारीलाई निलम्बन गर्दै छानबिन समिति गठन गरेको हो ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा गठन भएको छानबिन समितिले एक महिनाभित्र गभर्नर अधिकारीलाई लागेको आरोप उपर अध्ययन गरी प्रतिवेदन बुझाउने छ ।

छानबिन समितिले गभर्नरलाई हटाउने सिफारिस दिएमा गभर्नरलाई सरकारले हटाउने छ भने आरोप पुष्टी नभएमा गभर्नर अधिकारी राष्ट्र बैंक फर्कने छन् ।

सरकारले गभर्नर अधिकारीलाई हटाउनका लागि नै छानबिन समिति बनाएको र अर्थमन्त्री शर्माले आफ्ना नातेदार भण्डारीलाई संयोजक बनाएको हुँदा समितिले गभर्नरको विपक्षमा प्रतिवेदन दिने सम्भावना बलियो छ ।

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको अध्यक्षमा गभर्नर रहने व्यवस्था छ । सरकारले कामू गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर निलम ढुंगानालाई दिएको छ । राष्ट्र बैंकमा दुईजना सञ्चालक रामजी रेग्मी र श्रीराम पौडेलको पदावधी वैशाख ३ गते सकिन लागेको छ ।

केपी ओली सरकारले सञ्चालक नियुक्त गरेका सुवोधलाल कर्णले घुस मागेको प्रकरण बाहिर आएको छ । उनलाई सरकारले निलम्बन गरेर अनुसन्धान गर्न भने अहिलेसम्म छानबिन समिति गठन गरेको छैन ।

७ सदस्यीय राष्ट्र बैंकको सञ्चालक समितिमा दुईजना डेपुटी गभर्नर र एकजना अर्थसचिव मात्र हुने देखिएको छ । यसले अर्थतन्त्र संकटमा परेको बेला ठूलो नीतिगत निर्णय लिन नसक्ने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

‘राष्ट्र बैंकको संरचनाले गभर्नरलाई अधिकार दिएको छ, त्यसपछिको नीतिगत निर्णय सञ्चालक समितिले गर्नुपर्छ, गभर्नर निलम्बन तथा सञ्चालकको पदावधी सकिने भएको हुँदा राष्ट्र बैंकको काम शुन्यता हुने देखिन्छ,’ केन्द्रीय बैंकका एक उच्च कर्मचारीले भने ।

सोमबारदेखि राष्ट्र बैंकका कर्मचारीहरुले नियमित गर्ने बाहेकको अरु कामहरु खासै गरेका छैनन् । वैशाख महिनामा राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्ने छ ।

५ वर्षअघि माओवादी र कांग्रेस सरकारले रेग्मीलाई कांग्रेस कोटाबाट र पौडेललाई माओवादी कोटाबाट राष्ट्र बैंकको सञ्चालक बनाएको थियो ।

रेग्मी पौडेल अहिले कांग्रेस र माओवादीको सरकार रहेको हुँदा पुनः ५ वर्षका लागि सञ्चालकमा दोहरिन खोजेका छन् । यसबाहेक राष्ट्र बैंकबाट अवकास भएका पूर्वकार्यकारी निर्देशकहरुले समेत सञ्चालक बन्नका लागि लविङ गरेका छन् ।


क्लिकमान्डु